१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

सञ्चालनमा आयो उदयपुर अस्पतालको प्रसुति भवन

गाईघाटस्थित उदयपुर अस्पतालको नव निर्मित प्रसुति भवन सञ्चालनमा आएको छ । प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले शनिबार दिउँसो उद्घाटन गरेसँगै नयाँ भवन सञ्चालनमा आएको हो ।

अस्पताल परिसरमै निर्मित एकतले भवन प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत दुई आर्थिक वर्षको लगानीमा बनाइएको हो । गत आर्थिक वर्ष निर्माण सुरु भएको कोठे भवन चालू आर्थिक वर्ष सम्पन्न भएलगत्तै उद्घाटन गरेर सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. वीरेन्द्र मण्डलले बताए ।  

डा. मण्डलका अनुसार आर्थिक वर्ष ०८९/८१ र ०८१/८२ को दुई वर्षे क्रमागत योजनाबाट भवन निर्माण भएको हो । भवनमा २ करोड २९ लाख लगानी भएको डा. मण्डलले बताएका छन् । नयाँ भवन सञ्चालनमा आएपछि पुरानो र जिर्ण भवनबाट स्रसुति सेवा दिनुपर्ने बाध्यता हटेको पनि डा. मण्डलले बताए ।

प्रसुति विशेषज्ञ सर्जन डा. मुकेश झाले नयाँ भवन बनेपछि धेरै सहज हुने बताए । उनका अनुसार उदयपुर अस्पताल प्रसुति सेवाका लागि प्रदेशभरकै कहलिएको स्वास्थ्य सँस्था हो । यहाँ दैनिक आधा दर्जन जटिल खालका गर्भवती महिलाको सिजरियन अप्रेसन हुने गरेको छ भने गर्भवती र सुत्केरी सम्बन्धी सेवा लिने महिलाहरु दैनिक सयभन्दा बढी आउने गरेका छन् ।

अस्पताल विकास समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्माले अस्पतालमा अझै पर्याप्त दक्ष जनशक्ति, पूर्वाधार संरचना तथा मेसिन उपकरणको खाँचो रहेको बताए । उनले आईसियु, भेन्टिलेटर र सिटी स्क्यान तथा एमआरआई सेवा सुरु गर्नेगरी बजेटको व्यवस्था गरिदिन मन्त्रीसँग आग्रह गरे ।  

कार्यक्रममा मन्त्री राईले प्रदेशका सबै अस्पतालहरुलाई दक्ष जनशक्ति, पूर्वाभार संरचना र मेसिन उपकरणले युक्त बनाउने प्रयास गरिरहेको बताए । कुनै वपनि नागरिक उपचार अभावमा ज्यान फाल्न बाध्य नहुन् भनेर आफू गाउँघर क्लिनिकदेखि प्राथमिक उपचार सेवा केन्द्र, स्वास्थ्य चौकी, गाउँ तथा नगर अस्पताल र जिल्ला हुँदै प्रादेशिक अस्पतालसम्मको स्तरोन्नति विकासमा लागिरहेको बताए ।

प्रकाशित: १३ मंसिर २०८२ २०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App