१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुर अस्पताल प्रदेशकै उत्कृष्ट

उत्कृष्ट अस्पतालको प्रशंसापत्र ग्रहण गर्दै डा. मुकेश झा ।<br>

जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशभर उत्कृष्ट सावित भएको छ । गत आर्थिक वर्ष सेवा प्रवाह गरेको कार्यसम्पादन मूल्याङ्कनमा यो अस्पताल प्रदेशभरीकै उत्कृष्ट ठहरिएको हो ।  

प्रदेश स्वास्थ्य मन्त्रालयले कात्तिक २८ देखि ३० गतेसम्म आयोजना गरेको ‘प्रदेशस्तरीय वार्षिक एकीकृत समीक्षा कार्यक्रम’मा उत्कृष्ट भएको अस्पताललाई प्रशंसापत्र प्रदान गरियो । शनिबार समीक्षा कार्यक्रम समापन समारोहमा प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताललाई प्रशंसापत्र प्रदान गरेको हो ।  

कार्यक्रममा स्वास्थ्यमन्त्री भुपेन्द्र राई र मन्त्रालयका सचिव डा. यदुनाथ घिमिरेले अस्पताल प्रतिनिधि डा. मुकेश झालाई प्रशंसापत्र प्रदान गरे ।  

अस्पतालका प्रशासन प्रमुख भगवती खतिवडाका अनुसार उदयपुर अस्पताल आर्थिकवर्ष ०७९/८० मा पनि प्रदेशभरीका अस्पतालमध्ये प्रथम भएको थियो । यो अर्को सुखद नतिजा प्राप्त गर्नु सिङ्गो अस्पताल परिवार र जिल्लाबासीका लागि गौरवको कुरा भएको उनको भनाइ छ।  

अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले स्वास्थ्यकर्मी कर्मचारीको कडा मेहनेतले यस्तो उपलब्धी हुँदै आएको बताए । बिरामीको उपचारमा कुनै कमी आउन नदिन कार्यालय समय (१०–४) भन्दा बाहेकको समय पनि खट्दै आएको बताए । ‘अस्पताल राम्रो बनाउन, विरामीले राम्रो उपचार पाउन् भनेर रातदिन नभनि खट्ने गरेका छौँ’ साँझ बिहान पनि अस्पतालमा भेटिने पाण्डेले भने ‘अस्पताल राम्रो होस्, बिरामी सबैले उचित उपचार समयमै पाउन् भन्ने उदेश्यले ओभरटाईम पनि काम गर्छौँ तर, तनखा लिदैनौँ ।’  

अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. वीरेन्द्र भण्डलले यो उपलब्धी प्राप्त हुनुमा सम्पूर्ण जिल्लाबासीको साथ, सहयोग र सहकार्य प्रमुख कारण भएको भन्दै सबैलाई धन्यबाद दिएका छन् । डा. मण्डलले अस्पताल प्रशासन, व्यवस्थापन समिति, कर्मचारी संयन्त्र र जिल्लाबासी नागरिक समाजको साझा उपलबधीको रुपमा यसलाई लिने बताउँदै आगामी दिनमा उपचार सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।  

५० शैय्याको जिल्ला अस्पतालमा हाल सामान्यदेखि जटिलखालका रोगको शल्यक्रिया (अप्रेसन)सम्मको उपचार सेवा उपलब्ध हुँदै आएको छ । पत्थरी, हाईड्रोसिल, अर्निया र एपेन्डिसाईटिसको दुर्विनको माध्यमबाट अप्रेसन हुने गरेको छ भने जटिल खालका गर्भवति महिलाको सुत्केरी सिजरियन अप्रेसन (सिएस) सुरक्षित र सरल रुपमा हुने गरेको छ ।  

मुटु, मृगौला, फोक्सोको परीक्षण तथा छाला तथा यौन सौन्दर्य, मानसिक रोगको पनि परीक्षण हुने गरेको अस्पतालमा सिटी स्क्यान तथा एमआरआई र आईसियु तथा भेन्टीलेटर  बाहेकका सबै उपचार सेवा गर्ने गरिएको छ । जिल्ला अस्पतालले यत्तिको उपचार सेवा दिन थालेपछि पछिल्लो समय जटिल खालका विरामीहरु मात्र विराटनगर, धरान र काठमाडौं धाउने गरेको स्वास्थ्यकर्मी ओमप्रकाश पालले बताए ।  

प्रकाशित: १ मंसिर २०८२ १८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App