कार्तिक अन्तिम साता ताप्लेजुङमा हुने शल्यक्रियासहितको निःशुल्क आँखा शिविरमा विश्व विख्यात डाक्टर सन्दुक रुइतको परिवार नै खटिने भएको छ।
डाक्टर सन्दुक, उनकी श्रीमती नन्दा र छोरा सागरसहितको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले फुङलिङमा हुने शल्यक्रियासहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा आँखाको परीक्षण, उपचार तथा शल्यक्रिया गर्ने निर्क्योल भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले डाक्टर रुइत परिवारका साथ तिलगंगा आँखा अस्पतालको चिकित्सक तथा प्राविधिक गरी २१ जना टोलीले कार्तिक फुङलिङ आउने बताए। उनका अनुसार कार्तिक २८ गते फुङलिङ आइपुग्ने टोलीले कार्तिक २९ गते आँखा रोगीहरूको अवस्था परीक्षण गरी शल्यक्रिया गर्नुपर्ने बिरामीको छनोट गर्ने छ।
छनोट भएका बिरामीको आँखाको कार्तिक ३० देखि शल्यक्रिया सुरु गरी मंसिर १ र २ गतेसम्म आँखा शिविर सञ्चालन हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक ईञ्चार्ज समेत रहेका वरिष्ठ नेत्र अधिकृत गुरुङका अनुसार कार्तिक ३०,मंसिर १ र २ गरी आँखा शिविरका लागि तीन दिनको समय भनिएकोमा अब डिचेन डोङ्गलामा कार्तिक २९ गतेबाटै आँखाका रोगीहरूको परीक्षण गरिने छ।
परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामी फेला परेमा कार्तिक ३० गतेबाटै शल्यक्रिया सुरु गरी उक्त क्रम मंसिर २ गतेसम्म जारी रहने गुरुङले बताए। आँखाका रोगीहरूले परीक्षणका लागि कार्तिक २९ गतेबाटै डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सम्पर्क गर्न सकिने समेत गुरुङले जानकारी दिए।
यसअघि तीनदिनको शिविर भनिने गरिएकोमा शिविरको पहिलो दिन शल्यक्रिया गर्नुपर्ने बिरामीको छनोट गरी दोस्रोदिनबाट मात्र आँखाको शल्यक्रिया गर्ने गरिएको थियो। यसपटकको शिविरमा तीनदिन पूर्णतया उपचार,परीक्षण र शल्यक्रिया गर्नेगरी सेवाग्राहीको आँखाको परीक्षण कार्तिक २९ गते सुरु गरिने नेपाल नेत्रज्योति संघले जनाएको छ।‘यो हिसावले आँखा शिविर कार्तिक २९ गतेबाट सुरु भएको मानिने छ’नेत्रज्योति संघ ताप्लेजुङका सभापति गुरुङले भने, ‘तर शल्यक्रिया भने कार्तिक ३० गतेबाट मात्रै हुने छ।’
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिएका रुइत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त आँखा रोग विशेषज्ञ हुन्।
प्रकाशित: २२ कार्तिक २०८२ १३:१७ शनिबार


-600x400.jpg)


