नेपालले खोप कार्यक्रममार्फत रुबेला (जर्मनी दादुरा) निवारण गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार सन् २०२५ मा आइपुगेर नेपालमा रुबेला निवारण भएको हो । नेपालमा रुबेलाविरुद्धको खोप सन् २०१२ मा सुरु भएको हो ।
त्यसैगरी धनुष्टंकार पनि दुई दशकपछि निवारण पुनर्पुष्टि भएको छ । पुनर्पुष्टिका लागि सन् २०२४ मा मूल्यांकन पुष्टि कार्यक्रम भएको थियो र त्यसले सफलता पाएको थियो । निवारण भएको पुष्टि भएको हो । गत वर्षको उपलब्धिबारे बताउँदै महाशाखाले यी दुई सफलताबारे जानकारी गराएको छ ।
कुनै पनि रोग निवारणको अवस्था बन्न प्रतिहजार १ जनाभन्दा बढीमा रोग सर्ने दर हुनुहुँदैन । नेपालमा रुबेला पहिलादेखि नै रहेको भए पनि यसबारे यकिन जानकारी नहु“दा ढिला पहिचान भई खोप अभियान पनि ढिला गरी सुरु भएको थियो । रुबेला निवारणले बालबालिका तथा गर्भवतीको गम्भीर स्वास्थ्य जोखिमवाट बच्न सफल भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । सन् २०२५ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुबेला निवारण भएको प्रमाणित गरेको हो । रुबेला संक्रमणले बालबालिकालाई अपांगता बनाउने, गर्भवती महिलामा यसको संक्रमण भयो भने गर्भ तुहिने र जन्मिने शिशुमा समेत अपांगता देखिने जोखिम हुन्छ ।
त्यसैगरी सुत्केरी तथा नवजात शिशुमा हुने धनुष्टंकार पनि निवारण भएको विज्ञ टोलीको मूल्यांकनले पुष्टि गरेको हो । नेपालले सन् २००५ मा नेपालमा पहिलो पटक त्यस्तो धनुष्टंकार निवारण भएको थियो ।
कुनै पनि रोग निवारणकै स्थितिमा छ भन्ने पुष्टि गर्न दुई दशकपछि विशेष वैज्ञानिक पद्धतिबाट मूल्याकंन गरिन्छ । त्यसैगरी सन् २०२५ भित्रै नेपालले अपनाइरहेको पोलियो संक्रमण निगरानी विधि पनि उत्कृष्ट प्रमाणित भएको छ । विश्व स्वास्थ्य संगठन दक्षिण पुर्वी एसियाली क्षेत्रका देशहरूमध्ये पोलियोको खोजपड्ताल गर्ने कार्यक्रममा पनि नेपाल उत्कृष्ट भएको थियो । यही वर्ष नेपालले समयअघि नै खोप अजेन्डा २०३० का प्रमुख लक्ष्यहरू हासिल गरेको खबर अन्तर्राष्ट्रिय जर्नल ल्यान्सेटमा प्रकाशन भएको छ ।
यही वर्ष तराईका जिल्लाहरू बारा र पर्सामा फैलिएको हैजा महामारी नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरी ९० प्रतिशतलाई हैजाविरुद्धको खोप प्रदान गरेको छ । यही वर्ष नेपालले महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोपलाई पनि राष्ट्रिय कार्यक्रममा समावेश गरेको छ ।
यो वर्ष १० देखि १४ वर्षका ९४ प्रतिशत किशोरीले उक्त खोप प्राप्त गरेका छन् । हामीले दुई खालका खोपबाट हुन सक्ने रोगको निगरानी गरेका छौं । निगरानी र खोप अभियान दुवै राम्रो छ र निरन्तर हुनुपर्छ भन्ने हो । गत वर्षको अवधिमा खोपमा भएका मुख्य उपलब्धिहरूले खोप अभियानपछि निवारण सम्भव हुने र यसका लागि निगरानी र अभियान दुवै कार्यक्रमको निरन्तरता आवश्यक देखिएको खोप शाखाका प्रमुख डा. गौतमले बताए । ‘अहिलेको उपलब्धि हेर्दा पुनः खोप अभियान र निगरानी दुवै कार्यक्रम हुनुपर्छ,’ उनले भने ।
प्रकाशित: १८ पुस २०८२ २१:०२ शुक्रबार




