बागलुङको ढोरपाटन नगरपालिकाका केही वडामा दादुराका बिरामी देखिएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। हाल नगरपालिकाको वडा नं. ७, ८ र ९ मा दादुराका बिरामीहरू भेटिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।
शाखाले दादुरा अत्यन्त संक्रामक रोग भएकाले समुदायमा छिटो फैलिन सक्ने जोखिम रहेको बताएको छन्। एक जना संक्रमित व्यक्तिबाट १८ जनासम्ममा संक्रमण सर्न सक्ने भएकाले सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
उच्च ज्वरो आउनु, शरीरमा रातो बिमिरा देखिनु, खोकी लाग्नु, आँखा रातो हुनु तथा रुघा लाग्नु दादुराका लक्षण हुन्। यस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न शाखाले आग्रह गरेको छ।
संक्रमण फैलिन नदिन बिरामीसँग नजिकको सम्पर्क नगर्न, खोक्दा वा हाछ्युँ गर्दा नाक–मुख छोप्न, भीडभाडबाट टाढा रहन तथा मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। साथै लक्षण लुकाउने वा उपचार ढिलाइ गर्ने प्रवृत्तिले संक्रमण थप फैलिन सक्ने भएकाले समयमै जाँच तथा उपचार गराउन पनि आग्रह गरिएको छ।
शाखाले समुदायलाई सचेत रहन र स्वास्थ्य सम्बन्धी निर्देशनहरू पालना गर्न अनुरोध गर्दै संक्रमणको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ १४:३६ सोमबार





