नेपालमा कात्तिकदेखि जाडो मौसम सुरु हुन्छ। अहिले दिउँसोमा तातो भए पनि बिहानबेलुका चिसो बढेको छ। बिस्तारै चिसो बढ्ने क्रम जारी छ। जाडोमा श्वासप्रश्वास र बाथका रोगीमा समस्या बढ्छ। विशेष गरी हातखुट्टाको जोर्नी दुख्ने समस्या लिएर अस्पताल पुग्नेको संख्या बढी हुन्छ।
गर्मीको तुलनामा जाडो मौसममा बाथरोगका धेरै बिरामी उपचारका लागि अस्पताल पुग्छन्। नेसनल बाथरोग सेन्टरका अनुसार गर्मीयामको तुलनामा कात्तिकको सुरुमै बाथ रोगका २० प्रतिशत बिरामी दुखाइको समस्या लिएर सेन्टरमा ल पुगेका छन्। सेन्टरमा गर्मी मौसमा दैनिक औसत १५० जना बाथरोगका बिरामी पुग्छन्। जाडो मौसम सुरु भएसँगै दैनिक औसत २५० जना बाथरोगका बिरामी पुग्ने गरेका छन्।
पुस/माघमा यो संख्या गर्मी यामको तुलनामा ५० प्रतिशत बढी हुन्छ। जाडोमा दैनिक औसत ३ सय जनासम्म बाथरोगी सेन्टरमा पुग्ने गरेको विगतको तथ्यांक छ।
हाम्रो शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली हुन्छ। यसलाई बलियो बनाउन शरीरका कोषहरूमा मुख्यतया ‘टि सेल’ र ‘बि सेल’ हुन्छन्। यी सेलको मुख्य काम शरीरभित्र प्रवेश गर्ने भाइरस, ब्याक्टेरिया, कीटाणुलाई पहिचान गरी बाहिर निकाल्ने वा नष्ट गर्ने हो।
शरीरको प्रतिरक्षा प्रणालीमा गडबडी भएमा रक्षक कोषहरूले बाहिरबाट प्रवेश गरेका कीटाणु र शरीरभित्रका स्वस्थ कोषबिचको फरक छुट्याउन सक्दैनन्। रक्षक कोषहरूले स्वस्थ कोषहरूलाई पनि बाहिरबाट प्रवेश गरेका कोष ठानेर आक्रमण गर्छन। राम्रो कोष नष्ट हुने क्रममा बाथरोग उत्पन्न हुन्छ।
बाथरोगले शरीरको जुनसुकै भागमा आक्रमण गर्न सक्छ। सामान्यतयाः जोर्नी दुख्ने लक्षण देखिए पनि बाथरोगले मिर्गौला बिग्रिने, आँखा रातो हुने जस्ता गम्भीर असर पुर्याउँछ। सेन्टरका बाथरोग विशेषज्ञ डा. सुधिर कर्मचार्यका अनुसार गर्मीको तुलनामा जाडोमा जोर्नीको गतिमा विभिन्न रूपमा समस्या परेपछि दुखाइ बढ्छ। यस्तोमा दुखाइ महसुस गर्ने नसा सक्रिय हुन्छ। चिसो मौसममा शरीरका संवदेनशील नसाहरू बढी सक्रिय हुन्छन्। यसकारण पनि जोर्नीहरूमा सानो चोट लागे पनि छिटो दुखाइ महसुस हुन्छ। त्यसमा पनि तापक्रम घट्दा यी नसाहरूले दुखाइको संकेत छिटो पठाउँछन्।
चिसोमा बाथको दुखाइ बढ्नुको अर्को कारण हो– बयारोमेट्रिक प्रेसर हो। यसको प्रभावले पनि जोर्नी दुख्छ। जाडोयाममा वातावरणको चाप घटबढ हुन्छ। जसको प्रत्यक्ष असर जोर्नीभित्रको ब्यारोमेट्रिक प्रेसरमा पर्छ। चिसोमा जोर्नीभित्रको प्रेसर घट्दा त्यहाँका तन्तुहरू सुन्निँदा ठाउँ साँघुरो हुन्छ। जोर्नीको खेल्ने ठाउँ घटेपछि अलिकति हलचल गर्दा पनि कार्टिलेज (हड्डी जोड्ने तन्तु) वा नसामा घर्षण भई घाउ हुन्छ र दुखाइ बढ्छ।
जाडोमा जोर्नी दुख्नुको अर्को कारण शारीरिक निष्क्रियता र बानीव्यवहार पनि हो। तातो मौसममा जोर्नीरू आफैंमा लचिला हुन्छन् र रक्तसञ्चार प्रणाली निर्बाध हुन्छ। जाडोमा व्यायाम गर्न अल्छी गर्ने र एकै ठाउँमा बस्ने गर्दा शारीरिक गतिविधि कम हुन्छ। शारीरिक गतिविधि न्यून हुँदा नसाहरू झन् खुम्चिन्छन्, जोर्नी जाम हुन्छन्। यसकारण पनि बाथरोगीमा दुखाइ बढ्छ।
चिकित्सकका अनुसार भिटामिन ‘डी’ र प्रतिरक्षा प्रणाली कमजोर हुनु बाथरोग बढ्नुको चौथो कारण हो। जाडो याममा घाम कम लाग्ने भएकाले धेरै मानिसमा भिटामिन ‘डी’ को कमी हुन्छ। भिटामिन ‘डी’ कमीले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। बाथरोग आफैंमा प्रतिरक्षा प्रणालीसम्बन्धी रोग भएकाले प्रतिरक्षा प्रणाली कमजोर हुँदा रुघाखोकी, फ्लु र निमोनिया जस्ता संक्रमणले छिटो समात्छ।
चिसो मौसममा जोर्नीभित्र रहेको तरल पदार्थको घनत्व बढ्छ। यो घनत्व बढ्न जाँदा मुठ्ठी पार्न गाह्रो हुन्छ। तरल पदार्थ बाक्लो हुँदा जोर्नी हलचल गर्न गाह्रो हुन्छ। अर्थात् जोर्नीभित्र जोर्नी खेल्ने ठाउँ साँघुरो भई दुखाइ बढ्छ। यो तरल पदार्थ गर्मीमा फैलिन्छ भने जाडोमा खुम्चिन्छ।
नेसनल बाथरोग सेन्टरले २७ वटा जिल्लामा गरेको अध्ययनअनुसार नेपालको २७ प्रतिशत जनसंख्यामा बाथ तथा बाथजन्य रोगका लक्षण देखिएका छन्। यसको अर्थ हो– नेपालमा करिब ७० लाख मानिसमा बाथरोगको समस्या छ।
बाथरोगीले चिसो मौसममा केही सावधानी अपनाएमा दुखाइ कम गरी सामान्य जीवनयापना गर्न सकिन्छ। चिकित्सका अनुसार शरीर छोपिने न्यानो लुगाको प्रयोग गर्ने, नियमित तातोले सेक्ने, रक्तसञ्चार बढाउन र जोर्नीको कडापन हटाउन बेलाबेलामा हट ब्याग वा तातो पानीले सेक्नु प्रभावकारी हुन्छ। यसो गर्दा खुम्चिएका नसाहरू खुल्छन्। बाहिर चिसो मौसम छ भने घरैभित्र व्यायाम गर्ने, हातका औला चलाउने, नाडी घुमाउने, घुँडा र ढाडको कसरत गरिरहनु पर्छ। फ्लु अर्थात् निमोनियाविरुद्धको खोप लगाउनु पर्छ। धूमपान र धुवाँबाट जोगिन सके पनि बाथरोगीले जाडो मौसममा सामान्य जीवनयापन गर्न सक्छन्।
प्रकाशित: ९ कार्तिक २०८३ ०९:०१ सोमबार





-600x400.jpg)