९ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘प्रधानमन्त्री युवा क्रोमबुक योजना’ सुरु, पाँच लाख ल्यापटप बाँडिँदै

एआई तस्बिर

पाकिस्तान सरकारले आगामी दुई वर्षभित्र देशभरका विद्यार्थीलाई पाँच लाख क्रोमबुक वितरण गर्ने भएको छ।

डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले प्रधानमन्त्री शेहबाज शरीफले आइतबार इस्लामाबादमा ‘प्रधानमन्त्री युवा क्रोमबुक योजना’ सुरु गरेका हुन्। यस योजनाअन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका साथै धार्मिक मदरसामा पढ्ने विद्यार्थीले पनि क्रोमबुक पाउनेछन्।

शरीफका अनुसार क्रोमबुक विद्यार्थीको आर्थिक अवस्थाभन्दा उनीहरूको योग्यता र क्षमताका आधारमा वितरण गरिनेछ। उनले युवालाई आधुनिक प्रविधिमा पहुँच दिलाउनु राज्यको सामूहिक जिम्मेवारी भएको बताए। गरिबीकै कारण प्रतिभाशाली विद्यार्थी प्रविधि र शिक्षाको अवसरबाट वञ्चित हुन नहुने उनको भनाइ थियो।

‘यी उत्कृष्ट उपकरण तिमीहरूको हातमा हुनेछन्, ताकि तिमीहरू ज्ञान र सीपमा पछि नपर’, शरीफले भने। उनका अनुसार क्रोमबुकको सहायताले विद्यार्थीले टाढाबाटै कक्षामा सहभागी हुन, डिजिटल सीप विकास गर्न र भविष्यमा रोजगारीका अवसर खोज्न सक्नेछन्।

उनले आफ्नो पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) पार्टीको नेतृत्वमा रहेका अघिल्ला सरकारले एक दशकमा ६ लाख ल्यापटप वितरण गरेको स्मरण गरे। अहिलेको योजनामार्फत भने दुई वर्षभित्र पाँच लाख क्रोमबुक वितरण गर्ने लक्ष्य राखिएको छ।

यी उपकरणमा माइफाइ प्रविधिमार्फत इन्टरनेट सुविधा पनि उपलब्ध गराउने योजना छ। शरीफका अनुसार इन्टरनेट सुविधाबाट विद्यार्थी मात्र नभई उनीहरूका परिवारका सदस्यले समेत लाभ लिन सक्नेछन्। यसबाट करिब २५ लाख मानिस लाभान्वित हुने अनुमान गरिएको छ।

यस योजनाको अर्को महत्त्वपूर्ण पक्ष धार्मिक मदरसामा अध्ययनरत विद्यार्थीलाई पनि समेट्नु हो। रक्षामन्त्री ख्वाजा आसिफका अनुसार कुल क्रोमबुकमध्ये प्रत्येक पाँचमध्ये एउटा दर्ता भएका मदरसाका विद्यार्थीलाई दिइनेछ। यस हिसाबले पाँच लाख क्रोमबुकमध्ये करिब एक लाख उपकरण मदरसाका विद्यार्थीका लागि छुट्याइनेछन्।

उपप्रधानमन्त्री इशाक दारले मदरसाका विद्यार्थीलाई समेट्नुले हरेक बालबालिकाले आधुनिक प्रविधिमा पहुँच पाउनुपर्छ भन्ने राष्ट्रिय सहमति देखाएको बताए। शिक्षामन्त्री खालिद मकबूल सिद्दिकीले पनि बदलिँदो शैक्षिक प्रविधिअनुसार अघि बढ्दै देशको अन्तर्राष्ट्रिय छवि बलियो बनाउन सरकार प्रयासरत रहेको बताए।

यसअघि अगस्टमा शरीफले उत्कृष्ट नतिजा ल्याउने दुई लाख ५० हजार विद्यार्थीलाई क्रोमबुक दिने योजना सार्वजनिक गरेका थिए। पाकिस्तानले गत वर्ष गुगल क्रोमबुक उत्पादन तथा जडान गर्ने आफ्नो पहिलो एसेम्बली लाइन पनि सुरु गरेको थियो। त्यसबेला उपप्रधानमन्त्री दारले यसबाट रोजगारी सिर्जना, आपूर्ति शृङ्खलाको विकास र भविष्यमा प्रविधिजन्य वस्तुको निर्यात बढाउन सहयोग पुग्ने बताएका थिए। पाकिस्तानी सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ९ कार्तिक २०८३ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App