राउटे समुदायमा स्वास्थ्य परीक्षण गरिएको छ। कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको आयोजनामा बस्तीमै पुगेर स्वास्थ्य परीक्षण तथा पोषिलो खानेकुरा वितरण गरिएको हो।
४० घरका १ सय ३२ जना राउटे सदस्यमध्ये ३३ जना पुरुष, १९ जना महिला र २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको कर्णाली प्रदेश प्रहरी अस्पतालले जनाएको छ। गर्मी बढेसँगै बस्तीका सदस्यहरू रुघाखोकी, पखाला जस्ता समस्याबाट पीडित हुँदै आएका थिए।
उनीहरू हप्तादिनअघि मात्रै गुर्भाकोट नगरपालिका–१४ स्थित गोडाखोलाको जंगल छेउमा बसाइँ सरेका हुन्। राउटे समुदायको कम्तीमा हप्तादिनदेखि बढीमा चार महिनाभित्र बसाइँ सर्ने चलन छ।
राउटे बस्तीमा पुगेर पोषिलो खानेकुरा वितरणसहित स्वास्थ्य जाँच गरिएको कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतका प्रमुख श्यामकृष्ण लौडारीले बताए। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अस्पताल प्रमुख लौडारी, प्रहरी निरीक्षक डा. सञ्जीव खड्कासहित ६ जनाको स्वास्थ्य टोली राउटे बस्तीमा खटिएको थियो।
आफ्ना समुदायका सदस्यहरू पहिले उपचारमा विश्वास नगर्ने गरे पनि पछिल्ला दिनहरूमा उपचार गराउन थालेको राउटे मुखिया प्रकाश शाहीले बताए।
“प्रहरी डाक्टरबाट स्वास्थ्य जाँच र औषधि पायौँ,” राउटे मुखिया शाहीले भने, “बस्तीमा पखाला, खोकीलगायत अन्य सामान्य बिरामी छन्।”
विशेषगरी राउटे समुदायमा घुमन्ते जीवनशैली, पोषणयुक्त खानाको अभाव, सरसफाइमा कठिनाइ तथा समयमै उपचार नपाउने अवस्था स्वास्थ्यका मुख्य चुनौती बनेका छन्। पछिल्ला वर्षहरूमा राउटेको संख्या घट्दो क्रममा छ। सबै उमेर समूहका राउटेहरूमा मदिराको लत बढ्दै जाँदा स्वास्थ्य समस्या पनि बढेको छ। वृद्धहरू मदिराकै कारण ज्यान गुमाउने तथा शिशुहरूलाई बचाउन कठिन हुने अवस्था देखिएकाले राउटे समुदायको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। शिशु मृत्युदर घटाउन नयाँ उपाय अपनाउनुपर्ने देखिएको छ।
प्रकाशित: २९ वैशाख २०८३ १८:१५ मंगलबार





