महिलामा महिनावारी रोकिने क्रममा या रोकिइसकेपछि विभिन्न स्वास्थ्य समस्या हुने र यस्तो समस्यामा पिआरपी (प्लेटलेछट रिच प्लाज्मा) थेरापी लाभदायी हुने स्त्रीरोग बिशेषज्ञले औल्याएका छन ।
हालै सम्पन्न विश्व मेनोपोज(रजनोबृत्ति) दिवसको अवसरमा कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ डा. मनिषा सिंहले यस्तो सुझाएकी हुन । ‘मेनोपोजको लक्षण व्यवस्थापन र ताजा राख्नमा भजाइनल पिआरपी थेरापी लाभदायी हुन्छ’ उनले भनिन ।
आफ्नै रगत इन्जेक्सन मार्फत शरीरको आवश्यक अङ्गमा लगाइन्छ । महिलामा महिनावारी बन्द हुने या भइसकेपछि योनीको तन्तुमा आउने समस्या व्यवस्थापन गर्न यो थेरापी दिइन्छ । रगतभित्र हुने सानो कोषले घाउ निको पार्ने र नयाँ कोष बनाउने गर्छ । योनीको छालाभित्र र बाहिर यो थेरापी दिएर योनीलाई पुनर्जीवित गर्न मद्दत गर्छ । नेपालमा यो थेरापी सीमित क्लिनिक तथा अस्पतालहरुमा उपलब्ध छ ।
कार्यक्रमको उट्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रा. डा. सुधा शर्माले गरिन । सो क्रममा मन्त्री शर्माले नेपालमा सार्वजनिक स्वास्थ्य नीतिमा मेनोपज स्वास्थ्यलाई प्राथमिकतामा राख्नु अत्यावश्यक भएको बताइन । नेपाल मेनोपोज सोसाइटीकी अध्यक्ष डा. शिला बर्माले मन्त्री शर्मालाई चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान दिएको वापत सम्मान पत्र प्रदान गरिन । सोसाइटीले विश्व मेनोपोज दिवस महिला स्वास्थ्य र मेनोपोज सम्बन्धि जागरुकता तथा विमर्श गरेको थियो ।
कार्यक्रममा उपस्थित करिव ६० जना बरिष्ठ प्रसूति तथा स्त्रीरोग बिशेषज्ञहरुले नेपालमा मेनोपोज व्यवस्थापन, चेतना अभिबृद्धि, अनुसन्धान तथा स्वास्थ्य सेवा प्रवर्धनको बारेमा विचार विमर्श गरे । सोही क्रममा नेपाल मेनोपोज सोसाइटीकी अध्यक्ष डा. बर्माले बरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डा. गणेश दंगालको सम्पाकत्वमा मिसोन जर्नल सुरु गर्ने घोषणा गरिन ।
प्रकाशित: २४ कार्तिक २०८२ १७:४३ सोमबार





