स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरवारभित्रै सञ्चालन गर्ने गरी प्रि–फ्याव ब्लकको निर्माण भइरहेको छ। मंसिरको पहिलो साताभित्र सर्ने गरी निर्माण कार्य भइरहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा आगजनीबाट मन्त्रालयको भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि स्वास्थ्य मन्त्रालयलाई पनि सिंहदरबारभित्रै लैजान लागिएको हो। भदौं २४ अघि स्वास्थ्य मन्त्रालयमात्रै सिंहदरबारको कम्पाउन्ड बाहिर थियो। आगजनीपछि यो मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषदको भवनमा बस्दै आएको छ।
सिंहदरवाभित्र सेना रहेको भवनसँगै रहेको खाली क्षेत्रमा ६ वटा ब्लक बनाउने तयारी सरकारको छ। ती ब्लक मन्त्रालय सञ्चालनका लागि अपुग भए सेनाको व्यारेक खालि भएको साना भवनहरु प्रयोग गर्ने योजना रहेको छ। भित्र खालि जग्गामा अहिले निर्वाह चलाएपनि पछि सोही जमिनमा मन्त्रालयका लागि सुविधासम्पन्न भवन बन्न सक्ने प्रवक्ता बुढाथोकीले बताए। बुढाथोकीका अनुसार, सिंहदरवारभित्रै रहेका भवनमा मन्त्रालयका लागि ठाउँ हेर्ने काम पनि भइरहेको छ।
जेनजी आन्दोलनपछि सिंहरदवार हाता बाहिर रहँदा सुरक्षित नहुने मन्त्रालयका कर्मचारीले समेत महसुस गरेको उनले सुनाए। ‘ मन्त्रालय दुइदिनसम्म जलिरहंदा कसैले उद्दार गर्न सकेनन। बाहिरभन्दा भित्र सुरक्षित हुन्छ नै’ उनले भने।
मन्त्रालयसँग सम्वन्धित बिभिन्न नीतिगत वैठक हुँदा सरोकारवाला निकायहरु पनि भित्रै भएकोले सिंहदरबारभित्र भएपछि काम छिटो र छरितो हुने विश्वास उनको छ। ‘राष्ट्रिय योजना आयोग भित्रै छ, अर्थमन्त्रालय र अन्य निकाय पनि भित्रै छन’ उनले भने। मन्त्रालय जस्तो संवेदनशिल निकाय बाहिरको तुलनामा सिंहदरवारभित्र केही सुरक्षित हुने देखिएको उनले बताए।
प्रकाशित: १७ कार्तिक २०८२ १७:२३ सोमबार





