देशभरका जटिल प्रकृतिका बिरामीको प्रमुख भरोसा मानिने त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ‘एक बेड, एक बिरामी’ नीति लागू भएपछि शय्या अभावमा धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्।
बिरामीको गुनासोपछि सरकारको निर्देशनमा अस्पतालले एक महिनादेखि यो नीति अनिवार्य गरेसँगै उपत्यका र बाहिरबाट आएका थुप्रै बिरामी अन्यत्र रेफर भइरहेका हुन्।
यसअघि बिरामीको चाप बढ्दा एउटै बेडमा दुई जना बिरामी राखेर पनि उपचार गर्ने गरिएको थियो। तर, अहिले बेड खाली नभएको अवस्थामा भर्ना लिन बन्द गरिएपछि बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल धाउन बाध्य भएका छन्।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइँले बिरामीको अधिकार र हितलाई ध्यानमा राख्दै यो नीति निरन्तर लागू गरिने बताए। ‘एउटै बेडमा दुई जना राखेर उपचार गर्नु बिरामीको स्वास्थ्य अधिकारको हिसाबले गलत हो, एकै ठाउँमा उपचार गर्दा एकको संक्रमण अर्कोमा सर्छ,’ उनले भने।
हालकै मापदण्डअनुसार यो व्यवस्था भविष्यसम्म सुचारु राख्ने उनले प्रस्ट पारे।
हाल अस्पतालका तीनवटा त्रियाज शाखामा ८० वटा बेड र थप अब्जरभेसन कक्ष रहेका छन्। प्रवक्ता डा. सेढाइँका अनुसार बिरामीको सहजताका लागि अब्जरभेसन कक्ष विस्तार गरिएको छ भने अहिलेको व्यवस्थालाई थप सहज पार्न आठ दशवटा वेटिङ कक्ष विस्तार गर्ने तयारी भइरहेको छ।
अस्पतालले अति गम्भीर बिरामीलाई सकेसम्म अरू बिरामीको भर्ना प्रक्रिया रोकेर भए पनि व्यवस्थापन गर्दै आएको छ। कुर्सीमा पर्खिन सक्ने बिरामीको हकमा केही समय पर्खाएर सेवा दिइने गरिन्छ।
तर, ‘एल्लो एरिया’ अन्तर्गत पर्ने निमोनिया, ज्वरो र अन्य संक्रमण भएका बिरामीलाई भने बेड अभावमा अन्यत्र रेफर गर्ने गरिएको प्रवक्ता डा. सेढाइँले जानकारी दिए।
ड्युटीमा खटिएका अस्पतालका एक सुरक्षा गार्ड भन्छन्, ‘पर्खिन सक्ने बिरामीको हकमा केही समय पर्खाएर भए पनि कक्षमा उपचार गरिन्छ, नमिल्ने बिरामीको हकमा बेड छैन भने उपचारैविना अन्यत्र रेफर हुन्छन्।’
यसरी फर्किनुपर्दा टिचिङकै भरोसामा आएका बिरामी निराश हुने गरेको अस्पतालका कर्मचारीहरू बताउँछन्। सबै बिरामी सरकारी अस्पताल पुग्न नसक्ने र बाध्य भएर महँगो शुल्क तिर्न निजीमा जानुपर्ने अवस्था सिर्जना भएको छ।
एकातिर टिचिङमा बेड नपाएर बिरामी भौँतारिनुपरेको छ भने अर्कोतर्फ नजिकैको सरकारी वीर अस्पतालले आवश्यकता पर्दा एउटै बेडमा दुई जना राखेरै भए पनि निरन्तर सेवा दिइरहेको छ।
गरिब र विपन्न बिरामीलाई फर्काउन नसकिने वीर अस्पतालको भनाइ छ। वीर अस्पताल आकस्मिक कक्षका प्रमुख डा. सुरेश नेपाल भन्छन्, ‘हामीकहाँ गरिब बिरामी आउँछन्, अन्यत्र जाऊ भन्न मिल्दैन।’
प्रकाशित: १३ जेष्ठ २०८३ १५:२४ बुधबार





