२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

वीरमा एक सय ५० जनाले नमिलेको मुख र अनुहार मिलाए

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा पाँच वर्षको अवधिमा एक सय ५० जना बढीको अमिल्दो मुख तथा अनुहारको शल्यक्रिया सम्पन्न भएको छ। डेन्टल सर्जरी विभागका अनुसार वीरमा आधुनिक प्रणालीबाट भएको मुख तथा अनुहारको शल्यक्रिया गर्नेको संख्या एक सय ५० पुगेको हो । मुख तथा अनुहार मिलाउनेमा महिला र पुरुष बराबर छन् ।

मुख तथा अनुहारको सर्जरीअन्तर्गत दाँत नमिलेर मुखको भाग अघि आएको या माथि चिउँडोभित्र पसेको, हड्डी नमिलेर अनुहार बांगो भएको, दाँत बाहिर निस्केको छ भने सर्जरी हुन्छ । जन्मजात या चोटपटकका कारणले अनुहार तथा मुखको संरचना अवस्थालाई मुख तथा अनुहारको विकृति भनिन्छ।

डेन्टल सर्जरी एकाइका अनुसार वीरमा यस्तो शल्यक्रिया सन् २०१९ देखि सुरु भएयता पाँच वर्षको अवधिमा एक सय ५० जनाले गरेका हुन् । यो अस्पतालमा सन् २००८ बाट मुख तथा अनुहार मिलाउने शल्यक्रिया भारतीय चिकित्सकको सहयोगमा परम्परागत विधिबाट सुरु भएको थियो तर निरन्तरता पाउन सकेन।

वीरमा हाल भइरहेको शल्यक्रिया आधुनिक प्रविधिको भएकाले बिरामीको आकर्षण बढेको चिकित्सक बताउँछन् । यसमा नमिलेको दाँतमा तार बाँध्नुको सट्टा अलाइनर (पारदर्शी प्लास्टिकको ब्रसेल) राखिन्छ र लगत्तै सर्जरी गरिन्छ । यसका साथै सर्जरीअघि नै शल्यक्रिया हुने सम्बन्धित भागको सिटिस्क्यान, थ्रिडी, सफ्टवेयरमार्फत मापन गरी कति भाग काट्ने पहिल्यै थाहा हुन्छ । यसो गर्दा शल्यक्रियामा त्रुटि हुँदैन । शल्यक्रियापछि सोचेजस्तो परिणाम आउँछ ।

परम्परागत प्रविधिमा भने एक वर्षसम्म दाँत बाँधेर मात्र शल्यक्रिया गर्ने र शल्यक्रिया गर्दै अनुमानका भरमा हड्डी काट्ने प्रक्रिया अपनाइन्थ्यो । यो प्रविधिले परिणाममा त्रुटि आउने र बिरामीमा जटिलता आउने जोखिम हुन्थ्यो । परम्परागत प्रविधिमा यो उपचार सकिँदा दुइ वर्ष लाग्थ्यो भने सर्जरी फस्ट प्रक्रियामा ६ महिनादेखि एक वर्षभित्र पूरै उपचार सकिने उनीहरू बताउँछन् ।

चिकित्सकका अनुसार सफ्टवेयर र थ्रिडी प्रणालीमार्फत शल्यक्रिया गर्दा अनुहारको नसा चुडिने र शल्यक्रियापछि अमिल्दो हुने जोखिम रहँदैन । ‘हामीले गर्ने शल्यक्रियापछि अनुहार टपक्कै मिल्छ’, वीर अस्पतालका अर्थोडेन्टिक्स डा. मनीष बज्राचार्यले भने।

यो अवधिमा अस्पतालका चिकित्सक ओरल, म्यग्जिलो तथा क्रेनेफेसियल सर्जन डा. किशोर भण्डारी र अर्थोडेन्टिक्स डा. मनीष बज्राचार्यको टोलीले अमिल्दो अनुहारको शल्यक्रिया गर्ने आधुनिक प्रविधि भित्र्याएका थिए । विकसित राष्ट्रमा सुरु भएको यो उपचार पद्धति नेपालमा भित्र्याउने उद्देश्य लिएर अघि बढेपछि सम्भव भएको डा. भण्डारी बताउँछन्।

परम्परागत तरिकाले शल्यक्रिया गर्दा त्रुटि हुने देखिएपछि दुवै चिकित्सक फेलोसिप अध्ययनका लागि ताइवान पुगेका थिए । ताइवानमा डा. बज्राचार्यले ६ महिनाको फेलोसिप कोर्स सिके भने डा. भण्डारीले एक वर्षको कोर्स पूरा गरे । लगत्तै नेपाल फर्किएपछि वीरमा यो सेवा सुरु गरेका हुन्।

पाँच वर्षको अवधिमा एक सय ५० जनालाई सेवा प्रदान गरिसकेका छन् । शल्यक्रियाका लागि नेपाल र विदेशबाट समेत यो अस्पताल धाउने गरेका छन्। ‘हङकङ, क्यानडालगायतका देशबाट पनि हामीकहाँ आइरहेका छन्’, डा. भण्डारीले भने।

नयाँ पुस्ताका बिरामी भने अनेक प्रस्ताव लिएर आउने गरेको डा. बज्राचार्यले सुनाए । चलचित्रमा देखेका हिरोइनको जस्तो अनुहार बनाउने प्रस्तावदेखि सामान्य समस्यमा समेत शल्यक्रिया गर्न आउने गरेको यो विभागको अनुभव छ।

बिरामीहरू अनुहारको स्वरूपै परिवर्तन गर्नेसमेत प्रस्ताव लिएर आउने गरेको डा. बज्राचार्य बताउँछन्। ‘कोही कोरियनजस्तो अनुहार मिलाइदिनुस् भन्ने पनि आए, तर यस्तो शल्यक्रिया गर्दा थोरै नमिलेमा गुनासो आउने भएकाले हामीले गरेनौं’, उनले भने। यसका साथै थोरै समयमा पनि उपचारमा आउने गरेको उनले बताए।

सीमित शल्यक्रिया टेबुलको भरमा पाँच वर्षमा लामो उपचार गर्न सफल भएको चिकित्सक बताउँछन् । ‘बिरामीको मागअनुसार हामीले शल्यक्रिया गर्ने ठाउँको पालो पाएका छैनौं’, भण्डारीले भने। एक वर्ष लामो प्रक्रियामा हुने यो उपचारमा अहिलेको सर्जरी संख्या आफैंमा उपलब्धिमूलक भएको उनीहरू बताउँछन्।

सरकारी अस्पतालमा जटिल सेवा प्रदान गरेकोमा दुवै चिकित्सकले खुसी भएको बताए । जब शल्यक्रियापछि राम्रो मुहार बन्छ त्यतिबेला खुसी हुने बिरामीको मुहारको भाषाले भिन्नै अनुभूति हुने गरेको उनीहरू बताउँछन्। ‘आर्थिक लाभभन्दा पनि शल्यक्रियाले मुहार फेरिएका व्यक्तिहरू खुसी हुँदा खुसी हुन्छु’, डा. भण्डारीले भने।

‘खुसी भएर कोही धन्यवाद दिन आउँछन्, कोही उपहार बोकेर आउँछन्, त्यतिबेला ठूलो उपलब्धि भएको अनुभूति गर्छु’, डा. बज्राचार्यले भने । सरकारी अस्पतालबाटै प्रदान गरेको यो सेवाले दुर्गम तथा सामान्य बिरामीको पहुँचमा पुर्‍याउन पाउँदा थप सफलता महसुस गरेको चिकित्सक बताउँछन् । ‘एक अर्काविना यो सेवा सम्भव छैन, हामी आगामी वर्ष पनि वीरमै सेवा प्रदान गर्छौं’, दुवैले भने।

प्रकाशित: १२ श्रावण २०८२ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App