रुपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटामा १५ शय्याको अस्पताल निर्माण गर्ने भनिए पनि अधिकांशमा योजना अलपत्र छन्। केही पालिकाले योजना फिर्ता भएपछि नगरस्तरीय अस्पताल निर्माण योजना पनि ल्याएका छन्। दुईवटा पालिकालाई यो योजना परेन भने एउटा पालिकाले योजनाअनुरूपको डिपीआर नबनाएको भन्दै परेको बजेट पनि फिर्ता भयो।
बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा प्रादेशिक र जिल्ला अस्पतालसहितका स्वास्थ्य पूर्वाधार रहेकाले यो योजना परेन। देवदह नगरपालिकाले योजना अनुरूप डिपीआर नबनाएपछि बजेट फिर्ता गएको थियो। देवदहबाट योजना फिर्ता गए पनि उसले १५ शय्याको नगर अस्पताल निर्माण गरेर सञ्चालन गरिसकेको छ।
बाँकी १३ पालिकामध्ये एउटाले मात्रै भवन निर्माण सकेर अस्पताल सञ्चालन गरिरहेको छ। केही पालिकामा भवन निर्माण चलिरहेको छ भने केहीमा बजेट नहुँदा योजना अलपत्र छ। सैनामैना नगरपालिकाले १३ करोड लागतमा भवन निर्माण सकेर गत वर्षदेखि अस्पताल सञ्चालनमा ल्याएको छ। संघीय सरकारले पठाएको प्रस्तावित जनशक्तिअनुरूप चारजना चिकित्सक, स्टाफ नर्स, प्यारामेडिक्समार्फत सेवा उपलब्ध गराइरहेको नगर प्रमुख फणिन्द्र शर्माले बताए।
यो अस्पताल सञ्चालनमा आएपछि प्रसूतिलगायतका स्वास्थ्य सेवाका लागि नगरवासीलाई बुटवल नै पुग्नुपर्ने अवस्था अन्त्य भएको उनले बताए। यो वर्ष अस्पताल सञ्चालनका लागि केन्द्रबाट ८० लाख बजेट आएको पनि नगर प्रमुख शर्माले जानकारी दिए।
१५ शय्याका दुईवटा अस्पताल योजना पाएको तिलोत्तमाले भवन निर्माण नै सकेको छैन। तिलोत्तमा– १७ बिपिग्राममा र वडा नं ६ को सालघारीमा गरी दुईवटा अस्पतालका लागि १४/१४ करोडको बजेट परेको थियो। तिलोत्तमाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले भवन निर्माण अन्तिम चरणमा पुगेको बताए।
प्रकाशित: ७ श्रावण २०८३ १२:२२ बिहीबार


-600x400.jpg)


