३२ असार २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

बालबालिका र गर्भवतीमा भयावह बन्दै कुपोषण

कुपोषणबाट बाँकेको खजुरामा गर्भवतीको मृत्यु

सन्तुलित आहारको कमी हुँदा बालबालिका र गर्भवतीमा कुपोषण भयावह बन्दै गएको छ।

जिल्लाको खजुरा गाउँपालिकाले हालै गरेको दोस्रो चरणको पोषण लेखाजोखाबाट ठुलो संख्याका साना बालबालिका तथा गर्भवती महिलाहरूमा कुपोषण पहिचान भएको हो।

गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर १ देखी ८ सम्म रहेका ६ महिनादेखि ५ वर्ष मुनिका कुल ४ हजार २ सय ८९ जना बालबालिकाको स्वास्थ्य जाँच गर्दा ४ सय ६६ जना बालबालिकामा कुपोषण पहिचान भएको हो। यी मध्ये ८७ जना बालबालिकामा कडा कुपोषण देखिएको छ। यस्तै वडा नम्बर १ देखी ८ सम्मका ९३ जना गर्भवती महिलामा पनि कुपोषण रहेको पाइएको छ। 

गाउँपालिकाले ६ महिनाअघि पहिलो चरणमा गरेको पोषण लेखा जोखाबाट २ सय ५४ जना बालबालिका र १ सय १६ जना गर्भवती तथा ६ महिनासम्मका सुत्केरी महिलामा कुपोषण पहिचान भएको थियो।

स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार दोस्रो चरणको लेखा जोखामा सबैभन्दा बढी खजुरा–७ स्थित सोनपुर स्वास्थ्य चौकीमा १ सय ३४ जना बालबालिकामा कुपोषण पहिचान भएको छ।

त्यसैगरी वडा नम्बर ५ मा रहेको उढरापुर स्वास्थ्य चौकीमा ९२ जना, यस्तै खजुरा–६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ८४ जना, वडा नम्बर ८ मा रहेको रनियापुर स्वास्थ्य चौकीमा ५८ जना, खजुरा–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ४४ जना, खजुरा–२ को सितापुर स्वास्थ्य चौकीमा २० र वडा नम्बर १ स्थित राधापुर स्वास्थ्य चौकीमा ७ जना बालबालिकामा कुपोषण देखा परेको हो। 

बालबालिकाहरू जस्तै गर्भवती महिलाहरू पनि कुपोषित हुने संख्या बढ्दै गएको पाइएको छ। स्वास्थ्य शाखाका अनुसार सबैभन्दा बढी खजुरा–६ का ३१ जना गर्भवती महिलाहरूमा कुपोषण देखिएको छ।

यस्तै वडा नम्बर ७ का २२, वडा नम्बर ८ का १५ जना गर्भवती महिलामा कुपोषण पुष्टि भएको छ। यसैगरी वडा नम्बर ५ का १३, वडा नम्बर ४ का ६, वडा नम्बर २ का ५ र वडा नम्बर १ मा १ जना महिलामा कुपोषण देखिएको शाखा प्रमुख केसीले बताइन्। उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा खजुरा–८ रनियापुर निवासी एक जना गर्भवती महिलाको कुपोषणकै कारण मृत्यु भएको छ।

कुपोषितलाई उपचार गर्नका लागि गाउँपालिकाको ८ वटै वडामा ‘ओटिसी’ सेन्टर राखिएको छ। ‘कडा र मध्यम खालका कुपोषित बिरामीलाई पोषण प्याकेज दिइरहेका छौँ, ओटिसी सेन्टरमा राखेर कुपोषितको उपचारसँगै उनीहरूलाई निगरानीमा राख्छौँ,’ उनले भनिन्, ‘घरमा पोषणयुक्त खानेकुरा भएपनि बाहिरका खानेकुरालाई बढी महत्त्व दिने, आमाले साना बच्चाको खानपानमा ध्यान नदिने, काममा मात्र बढी ध्यान दिने, कमजोर आर्थिक अवस्था, सन्तुलित आहारको कमी जस्ता कारणले गर्दा कुपोषित हुनेको संख्या ह्वात्तै बढेर भयावहको स्थिति बनेको हो’।

महिला र बालबालिकामा कुपोषण डरलाग्दो रूपले देखिएपछि सम्बद्ध सरोकारवाला चिन्तित देखिएका छन्। स्वास्थ्यकर्मीका अनुसार पोषणयुक्त खानाको अभाव, स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी तथा आर्थिक समस्याका कारण कुपोषित हुने गर्भवती महिला र बालबालिकाको संख्या बढेको हो।

समयमै उचित उपचार र पोषणयुक्त खानाको व्यवस्था गर्न सके कुपोषणको समस्या घटाउन सकिने स्वास्थ्य विज्ञहरूले जोड दिएका छन्। गाउँपालिकाले कुपोषण न्यूनीकरणका लागि पोषण शिक्षा, नियमित स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। कुपोषित बालबालिका र गर्भवती महिलालाई आवश्यक परामर्श दिएर पोषण सामाग्री बाँड्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ ले बताए।

‘पहिला पोषण सम्बन्धी त्यति चेकजाँच हुँदैनथ्यो, अहिले हामीले नियमित रूपमा चेकजाँच गर्न थालेका छौँ, चेकजाँच गर्दा कुपोषितको संख्या अलि बढी नै देखिएपछि गाउँपालिकाले यसलाई गम्भीर रूपमा लिएर पोषण प्याकेज वितरणको काम गरेको छ,’ अध्यक्ष विकले नागरिकसँग भने, ‘कुपोषित भएकालाई पुरानै अवस्थामा फर्काउन र नयाँ व्यक्तिमा कुपोषण हुन नदिन गाउँपालिका एकदमै सजग छ।’

कुपोषणबाट बालबालिका र गर्भवती आमा दुवैको मृत्यु हुन सक्ने भएकाले गाउँपालिकाले कुखुरा, अण्डासहित पोषण प्याकेज खरिद गरेर वितरण गरेको उनको भनाई छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ १९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App