२४ मंसिर २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

लुम्बिनी प्रदेशमा ‘एन्टिरेबिज भ्याक्सिन’ अभाव

फाइल तस्बिर

लुम्बिनी प्रदेशमा ‘एन्टिरेबिज भ्याक्सिन’को अभाव देखिएको छ । प्रदेश अन्तर्गत रहेका सङ्घीय र प्रादेशिक अस्पतालमा भ्याक्सिनको अभाव भएको हो । स्वास्थ्यकर्मीका अनुसार कुकुर, बाँदर, स्याल लगायत जनावरले टोकेपछि रेबिज विरुद्धको खोप लगाउने गरिन्छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलका निमित्त निर्देशक डा. राजेन्द्रकुमार गिरीले रेबिज विरुद्धको भ्याक्सिन केही दिनदेखि लुम्बिनी प्रदेश भरी नै अभाव देखिएको बताए । उनका अनुसार नेपाल सरकार, स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लुम्बिनी प्रदेशका लागि आर्थिक वर्ष २०८१/०८२ मा ७० हजार ५ सय ‘भाईल’ भ्याक्सिनको कोटा उपलब्ध गराएको थियो । त्यसमध्ये ३३ हजार भाईल मात्र उक्त आर्थिक वर्षमा आएकाले भ्याक्सिनको चरण अभाव सिर्जना भएको गिरीले बताए ।

‘करिब एक महिनादेखि भ्याक्सिनको अभाव सिर्जना भएको छ, हामीसँग केही आपतकालिन अवस्था बाहेक अस्पतालहरूलाई वितरण गर्ने मौज्दात शून्य अवस्थामा रहेको छ,’ उनले नागरिकसँग भने, ‘यस विषयमा लुम्बिनी प्रदेश सरकारलाई जानकारी गराइसकेका छौँ, प्रदेश सरकारले केन्द्र सरकारसँग अनुरोध गर्ने बाहेक अरु केही गर्न सक्ने अवस्था छैन ।’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले लुम्बिनीभरि रहेका सङ्घीय, प्रादेशिक, जिल्ला अस्पतालसहितका ७० वटा स्वास्थ्य संस्थालाई रेबिज विरुद्धको भ्याक्सिन वितरण गर्दै आएको छ । अभाव सिर्जना भएपछि विभिन्न जिल्लाबाट अस्पतालहरूले दिनहुँ जसो भ्याक्सिन माग गरिरहेको र कतिपय अस्पतालका सवारी साधनलाई रित्तै फर्काउनु परेको केन्द्रले जनाएको छ । ‘भ्याक्सिन खोज्दै अस्पतालका गाडी दिनहुँ आउँछन्, तर हामीसँग मौज्दात नै नभएपछि रित्तै फर्काउनुपरेको छ,’ गिरीले थपे ।

हरेक वर्ष स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई रेबिज विरुद्धको भ्याक्सिनका लागि कोटा निर्धारण गर्छ । माग भन्दा आपूर्ति कम भएकाले समस्या आएको निमित्त निर्देशक गिरी बताउँछन् । ‘पहिला कुकुरले टोकेपछि मात्रै रेबिज यो भ्याक्सिन लगाइन्थ्यो, पछिल्लो समयमा मान्छेमा चेतना स्तर बढेको छ, अहिले बाँदर, स्याल जस्ता जनावरले टोके पनि रेबिजको भ्याक्सिन लगाई हाल्छन्,’ उनले भने, ‘भ्याक्सिन अभाव हुनुका पछाडि यो पनि एउटा कारण हो ।’

प्रदेश सरकारलाई उक्त भ्याक्सिन खरिद गर्ने अधिकार नभएको निर्देशक गिरीले प्रस्ट्याए। रेबिज विरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा मात्र सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँछ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सन् २०३० सम्ममा नेपालमा रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिइरहेका बेला भ्याक्सिनकै अभाव देखिन थालेपछि चुनौती थपिएको जनस्वास्थ्यकर्मी बताउँछन् । भ्याक्सिनको अभाव सिर्जना हुन थालेपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि भने एक लाख ७ हजार भाईल भ्याक्सिन केन्द्रसँग माग गरिएको जनाएको छ ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीले रेबिज विरुद्धको भ्याक्सिन नहुँदा बिरामीहरू दिनहुँ अस्पतालबाट फर्किनु परेको बताए । ‘हामीसँग रेबिज विरुद्धको भ्याक्सिन नै छैन, तर दिनहुँ कुकुर लगायतका जनावरले टोकेका बिरामीहरू अस्पतालको आपतकालिन कक्षमा आउँछन्, उनीहरुलाई भ्याक्सिन दिने अवस्था नै छैन,’ उनले भने ।

अस्पतालमा दैनिक सरदरमा ३० देखी ४० जना कुकुरले टोकेका बिरामी आएर फर्किने गरेको मेसु डा. सुवेदीले सुनाए। ‘एक दिन त ७० जना सम्म पनि बिरामी आएर फर्केका छन्,’ उनले भने । लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा दिनुहँजसो सम्पर्क गरेपनि तत्कालका लागि भ्याक्सिन पाउने अवस्था नरहेको बताए । 

बर्दिया अस्पताल गुलरियाका प्रमुख डा. सुभाष पाण्डेले रेबिज विरुद्धको भ्याक्सिन नपाउँदा बिरामीको उपचार गर्न समस्या भइरहेको सुनाए । ‘हामी कहाँ ३/४ महिनादेखि नै भ्याक्सिनको मात्रा कम आइरहेको थियो, अहिले त ठप्प नै भएको छ,’ उनले टेलिफोनमा भने, ‘कुकुरले टोकेका बिरामी अस्पतालमा आउँछन्, भ्याक्सिन नपाएर फर्केर जान्छन् ।’ डा. पाण्डेका अनुसार अस्पतालले वार्षिक रुपमा २ सय भाईल भ्याक्सिनको कोटा पाउँदै आएको छ । ‘यो कोटा अनुसार हामीलाई ३/४ महिना अभाव देखिरहेको छ,’ उनले थपे, ‘चालु वर्षमा भ्याक्सिनको कोटा बढाइदिन आग्रह पनि गरेका छौँ ।’

राप्ती प्रादेशिक अस्पताल दाङका प्रमुख डा. पदमराज अधिकारीले एन्टिरेबिज भ्याक्सिन अभाव भएपछि अस्पतालबाट बिरामीले उपचार पाउन नसकेको बताए । ‘हामीसँग भ्याक्सिन नै नभएपछि बिरामीको उपचार गर्न सकिएको छैन, उनीहरुलाई भ्याक्सिन नलगाएरै फिर्ता पठाउनु परेको छ,’ उनले भने । अस्पतालमा दैनिक १५÷२० जना कुकुरले टोकेका बिरामी आउने गरेको डा. अधिकारीले सुनाए ।

प्रदेशभरका सरकारी अस्पतालमा एन्टिरेबिज भ्याक्सिन नभएपछि कतिपय बिरामीले प्राइभेट मेडिकलमा महँगो मूल्य तिरेर पनि भ्याक्सिन लगाउने गरेको बताइन्छ । कतिपयले भारतीय बजारबाट भ्याक्सिन किनेर प्रयोग गर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

प्रकाशित: ५ श्रावण २०८२ १७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App