२४ मंसिर २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं महानगरको आग्रह : स्वास्थ्य संस्थाले ‘डिएचआइएस टु’ को युजरनेम-पासवर्ड लिनु

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (डिएचआइएस टु) को युजरनेम र पासवर्ड लिन अनुरोध गरेको छ।

कामपा स्वास्थ्य विभागले महानगर क्षेत्रमा रहेका ३६१ सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थालाई युजरनेम र पासवर्ड लिन आग्रह गरेको विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिए।

कामपाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) मार्फत सङ्कलन हुँदै आएकामा अब यो प्रक्रियालाई अनलाइन प्रणाली (डिएचआइएस टु) मा रूपान्तरण गर्न लागिएको छ। यसका लागि स्वास्थ्य संस्थाहरूले आफ्नो सञ्चालन इजाजतपत्रको प्रतिलिपि र जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपिसहित यथाशीघ्र कामपा स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध गरिएको श्रेष्ठले बताए।

उक्त प्रणालीले सामुदायिक र निजी दुवै स्वास्थ्य संस्थाको प्रतिवेदन समयमै प्राप्त गर्न सहयोग गर्छ। विशेषगरी निजी स्वास्थ्य संस्थाको तथ्याङ्क सङ्कलनमा कमी देखिएको छ, जसले गर्दा कामपाको समग्र स्वास्थ्य प्रतिवेदन प्रभावित भएको छ।

निरीक्षक श्रेष्ठका अनुसार उक्त प्रणालीको सहायताले पछिल्लो समय कस्ता रोगहरू बढ्दैछन्, कुन पोलिक्लिनिकमा कस्ता बिरामीको उपचार भइरहेको छ, रोगको प्रवृत्ति कस्तो छ भन्ने कुरा पत्ता लगाउन सहयोग गर्छ। ‘पहिले सङ्क्रामक रोगको जोखिम बढी थियो, अहिले नसर्ने तथा दीर्घ रोगहरू उच्च रक्तचाप, मुटुरोग, मधुमेहजस्ता रोग बढ्दैछन्। यसले स्वास्थ्य क्षेत्रमा कस्तो लगानी आवश्यक छ, कुन क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने कुरा निर्धारण गर्छ,’ उनले भने।

कामपामा ३३ सरकारी स्वास्थ्य संस्थाले नियमित रूपमा प्रतिवेदन बुझाइरहेका छन्। ठूलो सङ्ख्यामा रहेका निजी स्वास्थ्य संस्थाको तथ्याङ्क समयमै नआउँदा समग्र स्वास्थ्य अवस्थाको विश्लेषण गर्न कठिनाइ भएको छ। यदि सबै संस्थाले समयमै प्रतिवेदन बुझाए भने हामीले रोग पहिचान गर्न, स्वास्थ्य लगानीलाई प्राथमिकीकरण गर्न सजिलो हुने कामपाले उल्लेख गरेको छ।

कामपाले सबै स्वास्थ्य संस्थालाई भदौ १५ गतेभित्र आफ्नो ‘युजरनेम’ र ‘पासवर्ड’ लिई उक्त प्रणालीमा नियमित प्रतिवेदन बुझाउन आह्वान गरेको छ। यसले स्वास्थ्य तथ्याङ्कलाई व्यवस्थित, पारदर्शी र समयसापेक्ष बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै स्वास्थ्य संस्थालाई कागजातसहित छिटो सम्पर्कमा आउन र यो प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको छ। रासस

प्रकाशित: ३० श्रावण २०८२ १९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App