काठमाडौं महानगरपालिका ‘पूर्ण खोप सुनिश्चित महानगर’ घोषणा भएको छ। १२ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि महानगरलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिएको हो।
शुक्रबार आयोजित विशेष कार्यक्रममा काठमाडौं महानगरपालिकाले यो घोषणा गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले खोप प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएको बताइन्।
उनले बालबालिकाले आफ्ना स्वास्थ्यसम्बन्धी निर्णय आफैं गर्न नसक्ने भएकाले उनीहरूको सुरक्षा र स्वास्थ्यको जिम्मेवारी राज्य तथा परिवारले लिनुपर्ने उल्लेख गरिन्। साथै, आगामी दिनमा खोप कार्यक्रमलाई अझ प्रभावकारी र पहुँचयुक्त बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरिन्।
डंगोलले जटिल तथा ज्यानै जान सक्ने रोगबाट बचाउन खोप अपरिहार्य रहेको उल्लेख गर्दै कुनै बालबालिका खोप लगाउन छुटेका भए तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न अभिभावकलाई आग्रह गरिन्।
उनका अनुसार खोप अभियानकै प्रभावका कारण विगतमा पोलियोजस्ता रोगबाट हुने बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको छ। अब यस्ता जोखिमलाई पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्यसहित महानगर अघि बढिरहेको उनले बताइन्।
महानगरले पूर्ण खोप सुनिश्चितताको घोषणा गर्दै बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अभिभावकहरूको भूमिकालाई समेत महत्वपूर्ण रूपमा प्रशंसा गरेको छ।
प्रकाशित: १९ असार २०८३ २०:०८ शुक्रबार





