२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य संस्थाको अनुगमनमा देखियो अनियमितता: गैर स्वास्थ्यकर्मीको सेवा कति प्रभावकारी ?

नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) को समन्वयमा फिजियोथेरापी, डेन्टल हाइजिन, आँखा तथा रेडियोलोजी क्षेत्रका प्रतिनिधिहरू सम्मिलित संयुक्त अनुगमन टोलीद्वारा विभिन्न स्वास्थ्य संस्थाहरू तथा क्लिनिकहरूको स्थलगत निरीक्षण गरिएको छ।

अनुगमनका क्रममा परिषद्मा दर्ता हुने स्वास्थ्य व्यवसायीहरूद्वारा सञ्चालित क्लिनिक तथा स्वास्थ्य सेवाको अवस्थाबारे अध्ययन गर्दा विभिन्न प्रकारका अनियमितता फेला परेका छन्। निरीक्षणका क्रममा कतिपय क्लिनिकहरूले आवश्यक दर्ता प्रक्रिया नै पूरा नगरी सेवा सञ्चालन गरिरहेको, कतिपय संस्थाहरूमा आवश्यक जनशक्तिको अभाव रहेको तथा केही स्थानहरूमा सम्बन्धित निकायमा दर्ता नभएका व्यक्तिहरूबाट स्वास्थ्य सेवा प्रदान भइरहेको पाइएको छ।

त्यसैगरी, केही संस्थाहरूमा सम्बन्धित पेशाका जनशक्तिको सट्टा अन्य स्वास्थ्यकर्मी वा गैर-स्वास्थ्यकर्मीमार्फत सेवा सञ्चालन भइरहेको समेत भेटिएको छ, जसले स्वास्थ्य सेवाको गुणस्तर र बिरामी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

विशेषगरी फिजियोथेरापी सेवाको अनुगमनका क्रममा उल्लेखनीय अनियमितता देखिएको टोलीले जनाएको छ। कतिपय संस्थाहरूले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी फिजियोथेरापी सेवा सञ्चालन गरिरहेको तथा केही स्थानहरूमा योग्य र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएका फिजियोथेरापिस्टको अनुपस्थितिमा सेवा प्रवाह भइरहेको पाइएको छ। साथै, केही संस्थाहरूमा अन्य स्वास्थ्यकर्मी वा गैर-स्वास्थ्यकर्मीबाट फिजियोथेरापी सेवा प्रदान भइरहेको समेत भेटिएको छ।

सुरक्षित, गुणस्तरीय तथा कानुनसम्मत स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त अनुगमनको विस्तृत प्रतिवेदन नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा पेश गरिनेछ। प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाइने सम्बन्धित पक्षहरूले बताएका छन्।

संयुक्त अनुगमन टोलीले स्वास्थ्य सेवा क्षेत्रमा देखिएका यस्ता अनियमितता नियन्त्रण गर्न तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित: ६ असार २०८३ १७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App