२४ मंसिर २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालमा दर्जन सेवा थप

विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरले आइतबारदेखि झण्डै एक दर्जन सेवाहरु थप गरेको छ ।

अस्पतालले मुख, जिब्रो र घाँटीको अपरेसन रेडिएसनपछि खाना निल्न या बोल्नलाई असहजता हुने भएकाले सोको निराकरण गर्न स्पीच एण्ड स्वालोविङ्ग थेरापी समेत सुरु गरेको जनाएको छ । यस्तै अस्पतालले प्लाष्टिक एण्ड रिकन्स्ट्रकटिभ सर्जरीको लागि सुष्मा कोइराला अस्पतालसँग सहकार्य गरेको जनाएको छ । यसले जटिल किसिमका मुख, घाँटी, स्तन लगायतका अपरेसन गरेपछि शरीरको त्यो भागलाई पहिले जस्तो दुरुस्तै बनाउन सकिने अस्पतालले जनाएको छ ।

अस्पतालले आइतबारदेखि नै दन्त तथा मुख रोग विभाग, स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड सुरु गरेको छ । यसै महिनाबाट मानसिक तथा मनोपरामर्श सेवा पनि सुरु गर्ने जनाएको छ । विश्व टाउको तथा घाँटी क्यान्सर दिवसमा आइतबार अस्पतालमा भएको कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले यसले बिरामी र आफन्तका विक्षिप्त मनलाई आवश्यक सरसल्लाह दिएर सहजीकरण गर्ने जनाए । यसैगरी आइतबारदेखि नै अस्पतालले पहिलो पटक दन्त उपचार सेवा डेन्टल ओपिडी समेत सुरु गरेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले एमडीएस डाक्टर उपलब्ध गराइदिएको अस्पतालले जनाएको छ ।

दिवसकै अवसरमा अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना फैलाउने मुख्य उद्देश्यले क्यान्सर विजेता, स्वास्थ्यकर्मीहरूको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गर्नुका साथै ती सेवाहरु थप गरेको जनाएको हो । क्यान्सर विजेताहरू आफूहरूको आशा भएको उल्लेख गर्दै कार्यक्रममा क्यान्सर रोगीहरूको विजेताले नै क्यान्सरको सामना सम्भव छ भन्ने सन्देश दिन क्यान्सर विजेताहरूलाई गरेको जनाइयो। तपाईँहरू केवल बिरामी होइन, आशाका प्रतिनिधि, चेतनाका दूत र परिवर्तनका अगुवा बन्नुभएको छ, कार्यक्रममा सबैको सामूहिक भावना थियो ।

नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ । यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र सुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका छन् । तर जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो चरमा मात्र अस्पताल आउने गरेको कार्यक्रममा बताइयो ।

कार्यक्रममा टाउको तथा घाँटी क्यान्सरविरुद्ध सबै सरोकारवालाहरू, सरकार, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था, सञ्चारमाध्यम सबैलाई आह्वान समेत गरिएको थियो। विश्वमा हरेक बर्ष जुलाई २७ को दिनलाई टाउको तथा घाँटीको क्यान्सर दिवसको रुपमा मनाउने गरिन्छ।

प्रकाशित: ११ श्रावण २०८२ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App