ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम समयमै नगरे पाटन अस्पतालको हकमा ललितपुर महानगरले तिर्ने घोषणा गरेका छन्।
बुधबार एक कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन । हाल पाटन लगायत देशभरका अस्पतालहरुमा स्वास्थ्य बीमाबापत भुक्तानी गर्नुपर्ने रकम समयमै नगरेको सन्दर्भमा महर्जनले यस्तो भनेका हुन ।
उनले भने,‘पाटन अस्पतालमा पनि स्वास्थ्य बीमाको रकम भुक्तानी हुन नसकेको स्थिति छ । सरकारले भुक्तानी गर्दिन भनेको खण्डमा ललितपुर महानगरले गर्छ’ उनले अस्पतालका चिकित्सकलाई इंगित गर्दै भने ।
स्वास्थ्य बीमा बाहेक महानगरको नागरिकको स्वास्थ्य सेवामा अस्पतालसँग सहयकार्य हुँदै आएको र स्वास्थ्य बीमाले परेको समस्यामा पनि सहकार्य गर्न तत्पर रहेको उनले बताए ।
सोही कार्यक्रममा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले स्वास्थ्य बीमामा देखिएको समस्यालाई समाधान गर्न दैनिक गरी २० वटा बैठक बसिसकेको बताइन।
सरकार बीमाको रकम भुक्तानी गर्न तयार रहेपनि स्वास्थ्य बीमा बोर्डले समयमै दावी भुक्तानीको सूचीलाई प्रमाणित सूची पठाउन नसकेकोले ढिलाइ भएको बताइन । ‘बोर्डले पठाउने बित्तिकै भुक्तानी हुन्छ, अर्थमन्त्रालय तयार छ’, उनले भनिन ।
प्रकाशित: १९ कार्तिक २०८२ १७:५६ बुधबार





