४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा एचपीभी खोप अभियान चैत ९ देखि : एक हजार बढी किशोरीलाइ लगाइने

जुम्लामा किशोरी स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियान  हुने भएको छ। 

सरकारी प्राथमिकतामा परेको यो अभियानले विद्यालयमै पुगेर लक्षित उमेर समूहका किशोरीलाई खोप लगाउने रणनीति अपनाएको छ। 

जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार चैत ९ गतेदेखि सुरु हुने अभियानमा जिल्लाका ८ स्थानीय तहका ८४ विद्यालयलाई खोप केन्द्रका रूपमा प्रयोग गरिनेछ। विद्यालय आधारित खोप कार्यक्रममार्फत कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका १ हजार २ सय ७७ किशोरीलाई समेट्ने लक्ष्य राखिएको छ। 

अभियान सुरु हुनु अघि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यको उपस्थितिमा सरोकारवाला निकायबीच सूक्ष्म योजना निर्माण र कार्यान्वयन रणनीतिबारे छलफल गरिएको थियो। 

जनस्वास्थ्य कार्यालय प्रमुख किरण शर्माका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय र स्वास्थ्यकर्मीबीच समन्वयलाई प्राथमिकता दिइएको छ।

स्थानीय तहगत विवरण हेर्दा चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी २७७ किशोरी लक्षित छन्। पातारासी र हिमा गाउँपालिकामा समान २२१ जना छन्। तिला गाउँपालिकामा १८५, तातोपानीमा १६४, कनकासुन्दरीमा १७७, सिजामा १३५ र गुठिचौरमा ७७ किशोरी खोपको दायरामा आउनेछन्।

गतवर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई समेटिएको एचपीभी खोप यस वर्षदेखि नियमित खोप प्रणालीमै समावेश गरी कक्षा ६ केन्द्रित गरिएको छ। यसले दीर्घकालीन रूपमा पाठेघरको मुखमा हुने क्यान्सर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरूको विश्वास छ।

जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी प्रेमबहादुर सोमैले अभियानको मुख्य चुनौती लक्षित समूहको पूर्ण पहुँच सुनिश्चित गर्नु रहेको बताए।

'कुनै पनि किशोरी छुट्न नदिने र दोहोरिने अवस्था आउन नदिने गरी सूक्ष्म योजना बनाइएको छ,' उनले भने। 

नेपालमा २०३४ सालदेखि सञ्चालन हुँदै आएको खोप कार्यक्रमले बालमृत्युदर घटाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। त्यही निरन्तरतामा एचपीभी खोपलाई थप विस्तार गर्नु सरकारको रोकथाममुखी स्वास्थ्य नीतिको संकेतका रूपमा हेरिएको छ।

जुम्लामा सुरु हुन लागेको यो अभियान केवल खोप वितरण मात्र नभई, किशोरी स्वास्थ्यप्रति बढ्दो सचेतना र स्थानीय तहको जिम्मेवारीबोधको पनि एक उदाहरणका रूपमा उभिएको छ।

प्रकाशित: ४ चैत्र २०८२ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App