१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु

कपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु अस्पतालमा बुधबारदेखि हेमोडायलाइसिस सेवा सुरु भएको छ। विगत लामो समयदेखि सेवा शुभारम्भका लागि पहल गरिएकोमा बुधबारदेखि भने विधिवत रूपमा अस्पतालमा सेवा सुरु गरिएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रिबन काटेर सेवाको शुभारम्भ गरेका हुन्।

सो अवसरमा मन्त्री सारुले अस्पतालमा यो सेवा सुरु भएपछि डायलाइसिस सेवा लिनुपर्ने बिरामी लाभान्वित हुने बताए। उनले सरकारी अस्पतालको सेवालाई गुणस्तरीय बनाई आम नागरिकको विश्वास जित्नुपर्ने बताए। उनले लुम्बिनी प्रदेशअन्तर्गतका सरकारी अस्पतालहरूमा नवीनतम सेवाहरू धमाधम सुरु भइरहेको बताए।

उनले विगतमा राजनीतिक खिचातानीले सरकारी अस्पतालको सेवा–सुविधामा असर परे पनि अहिले भने सुधार भएको दाबी गरे। उनले कपिलवस्तु अस्पतालमा थप सेवा–सुविधा बढाउन प्रदेश सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा पूर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले यो अस्पतालमा सेवा शुभारम्भ भएपछि यस भेगका बिरामी लाभान्वित हुने बताए। उनले यो सेवालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए।

लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले कपिलवस्तु अस्पतालमा विगतको तुलनामा अहिले बिरामीले प्रभावकारी सेवा पाइरहेको बताए। उनले प्रदेश सरकारले यो अस्पताललाई थप सहयोग गर्नुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अस्पतालमा सेवा–सुविधाहरू थपिँदै गएको बताए। उनले यो अस्पताललाई अझै प्रभावकारी बनाउनुपर्ने बताए।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट किशोर बन्जाडेले लामो प्रयासपछि हेमोडायलाइसिस सेवा शुभारम्भ भएको बताए। उनले दुई साताअघि देखि दुई जना बिरामीको अस्पतालमा उपचार भइरहेको बताए। पाँच वटा मेसिनबाट सेवा सुरु गरिएको र २८ जना बिरामी सम्पर्कमा आएको बताए। उनले यो सेवालाई निःशुल्क गर्ने गरी तयारी अघि बढाइएको बताए।

२०२८ सालमा स्थापना भएको अस्पतालमा आईसीयू सहित विशेषज्ञ डाक्टर, फार्मेसी र ल्याब सहितका सेवाहरू उपलब्ध छन्।

प्रकाशित: ६ जेष्ठ २०८३ १९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App