१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कालीकोटमा स्वास्थ्य बिमा सेवा बन्द, बिरामी मारमा

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम संकटमा पर्दा सेवाग्राहीमा प्रत्यक्ष असर परेको छ। कालीकोट जिल्ला अस्पतालबाट बिमा मार्फत उपचार नपाएर सेवाग्राहीहरू खाली हात फर्किन थालेका छन्। लामो समयदेखि भुक्तानी नपाउँदा अस्पतालले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै जेठ २४ गतेदेखि स्वास्थ्य बिमा सेवा बन्द गरेको हो। 

बिमा कार्ड बोकेर अस्पताल पुगेका सेवाग्राहीले औषधि, परीक्षण र उपचारका लागि आफ्नै खर्च गर्न बाध्य भएका छन्। खाँडाचक्र नगरपालिकाका टेकबहादुर शाही स्वास्थ्य बिमाको कार्ड बोकेर जिल्ला अस्पताल मान्म पुगे।

अस्पताल पुगेका उनले बिमाबाट पाउने सेवा नपाएपछि शुल्क तिरेर औषधि किनेर घर फर्कीए। उनले नि:शुल्क पाउँदै आएको औषधिको ५ हजार तिरेको बताए। उनले भने, ‘पहिला पैसा नलाग्ने औषधिको स्वास्थ्य बिमा कार्ड हुँदा पनि पैसा लाग्यो।’  

शनिबार मात्रै जिल्ला अस्पताल पुगेका कपिल शाहीले पनी स्वास्थ्य बिमाको सेवा पाएपछि ३ हजारको औषधि उपचार गरेर फर्किन पर्यो। उनीहरू जस्तै धेरै बिरामीहरू अहिले स्वास्थ्य बिमाको सेवा नपाएपछि चर्को मूल्य तिरेर उपचार गर्न बाध्य छन्।

कालीकोट जिल्ला अस्पतालका डाक्टर रत्नवीर सुनारले स्वास्थ्य बिमाले हाल कायम गरेको दररेटमा दैनिक दश हजार घाटा लाग्ने गरी सेवा दिन नसकिने बताए। स्वास्थ्य बिमा अन्तर्गत प्रदान गर्दै आएको सम्पूर्ण सेवा तत्कालका लागि स्थगित गरेको उनको भनाइ छ।

स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले पाउनुपर्ने दाबी ७० लाख रकम लामो समयदेखि भुक्तानी नभएकाले अस्पतालमा आर्थिक भार बढेको, नियमित सेवा सञ्चालन तथा औषधि र स्वास्थ्य सामग्री व्यवस्थापनमा समस्या उत्पन्न भएकाले सेवा बन्द गरीएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए।  

स्वास्थ्य बिमा बोर्डको निर्णय तथा परिमार्जित बिमा सुविधा थैलीअनुसार निर्धारण गरिएको नयाँ दररेट अत्यन्त न्यून भएकाले उक्त दरमा सेवा प्रवाह गर्न कठिन भएकाले सेवा बन्द गरीएको उनको भनाइ छ।  

अस्पतालको २०८३ असार २४ गते बसेको निर्णयअनुसार स्वास्थ्य बिमा बोर्डबाट अर्को व्यवस्था वा निर्णय नभएसम्म स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध गराइने सम्पूर्ण सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ। बिमा सेवा बन्द भएपछि सबैभन्दा बढी असर आर्थिक रूपमा कमजोर वर्गमा परेको छ।  

बिरामीलाई सेवा उपलब्ध गराएबापत अस्पतालहरूले दाबी गरेको रकममध्ये ठूलो हिस्सा यसपटक भुक्तानी गरिएको स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले बताए। पहिलेको दररेट परिमाजनको तयारी थालेको उनको भनाइ छ। हाल देशभरका धेरै सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा सेवासम्बन्धी अन्योल कायम छ। कतिपय अस्पतालले हाल बिमामार्फत सेवा बन्द गरेका छन्।   

प्रकाशित: १३ असार २०८३ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App