बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले विराटनगरका बालबालिकालाई स्वर्णविन्दु खुवाइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले कार्तिक २५ गते १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाउने भएको हो ।
विराटनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले विराटनगरका १ हजार बालबालिकालाई लक्षित गरी स्वार्णविन्दु खुवाइन लागेको जानकारी दिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा. रामप्रमोद चौधरीले बच्चाहरुमा देखिँदै आएका अटिजमलगायतका विभिन्न किसिमका समस्याको समाधानलाई स्वार्णविन्दु उपयोगी रहेको बताए । स्वर्ण भस्म, मह, घ्यू, ब्रहमीलगायतका आयुर्वेदिक जडिबुटी मिलाएर बनाएको स्वर्णबिन्दुले बच्चाको बुद्धि, स्मरणशक्ति र बाणिमा सुधार ल्याउने, पाचन शक्ति, शारीरिक बल वृद्धि गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, उर्जाबान, तेजस्वी र सुन्दर बनाउन मद्दत गर्ने उनले जानकारी दिए ।
कार्तिक २५ गते बिहान ८ बजेदेखि ५ बजे सम्म विराटनगर सोमबारेहाट स्थित जिल्ला आयुर्वेदीक स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु खुवाइने जनाइएको छ ।
एक जना बालबालिकालाई हरेक महिनाको एकपटक खुवाउनु पर्ने र यसको पूर्णमात्रा १२ डोजको हुने डा चौधरीले बताए । कार्यक्रममा विराटनगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारको उपस्थिति थियो ।
प्रकाशित: २१ कार्तिक २०८२ २०:३३ शुक्रबार





