३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ६० महिलामा एचपीभी संक्रमण

काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा ६० महिलामा एचपीभी संक्रमण पुष्टि भएको छ । 

महानगरपालिकाका अनुसार २०८२ चैत १६ देखि २०८३ वैशाख २१ गतेसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रममा २ हजार ७७९ महिलाको एचपीभी परीक्षण गरिएको थियो । तीमध्ये १ हजार ७ सय जनाको रिपोर्ट प्राप्त हुँदा ६० जनामा एचपीभी पोजेटिभ देखिएको हो ।

एचपीभी पोजेटिभ देखिनु भनेको क्यान्सर पुष्टि हुनु नभई भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम रहेको संकेत भएको चिकित्सकहरुले बताएका छन्। संक्रमण लामो समयसम्म रहिरहेमा क्यान्सरको जोखिम बढ्ने भएकाले थप परीक्षण तथा निगरानी आवश्यक हुने जनाइएको छ ।

हालसम्म १८ जनाको कल्पोस्कोपी गरिएको छ भने एचपीभी पोजेटिभ देखिएका महिलाहरुलाई हरेक बुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर थप परीक्षण गरिँदै आएको छ । स्तन तथा पाठेघरको भिडियो एक्सरे र स्तनको मेमोग्रामका लागि पनि तालिका मिलाएर सेवाग्राहीहरुलाई बोलाउने गरिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले परीक्षण र प्रारम्भिक उपचारका सबै खर्च व्यहोरेको छ ।  

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार ३५ दिनको अवधिमा ३ हजार ४९४ महिलाले स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिएका थिए । तीमध्ये २ हजार ९७५ जना मात्रै अस्पताल पुगेर परीक्षण गराएका छन्। यस अवधिमा २ हजार ९६४ महिलाको स्तन क्यान्सर परीक्षण गरिएको छ भने ४११ जनाको मेमोग्राम गरिएको छ । यस्तै ५९ जनाको पाठेघर र ३६५ जनाको स्तनको भिडियो एक्सरे गरिएको छ ।

परीक्षणका क्रममा ४५ जनाको पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) भेटिएको छ। दुई जनाको पाठेघरको मासु निकालिएको छ भने तीन जनामा आङ खस्ने समस्या र आठ जनामा पाठेघरको मुखमा संक्रमण (पीआईडी) देखिएको छ। 

चिकित्सकहरुका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलाले हरेक पाँच वर्षमा पाठेघरको मुखको क्यान्सर परीक्षण गराउनुपर्छ । धेरै यौन सम्पर्क, कम उमेरमा यौन सम्पर्क, एचआइभी वा अन्य यौनजन्य संक्रमण, धूमपान, कमजोर प्रतिरक्षा प्रणाली तथा धेरैपटक गर्भवती हुनु पाठेघरको मुखको क्यान्सरका जोखिम कारक मानिन्छन्। 

त्यसैगरी उमेर बढ्दै जानु, पारिवारिक इतिहास, मोटोपना, व्यायामको कमी, धूमपान तथा अस्वस्थकर खानपान स्तन क्यान्सरका सम्भावित जोखिम कारकका रूपमा लिइन्छ । स्तनमा गाँठो देखिनु, आकार परिवर्तन हुनु, निप्पल भित्र धसिनु वा तरल पदार्थ बग्नु स्तन क्यान्सरका प्रमुख लक्षण मानिन्छन् ।  

प्रकाशित: २९ वैशाख २०८३ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App