मीनभवनमा रहेको सिभिल अस्पतालमा गम्भीर निमोनियाका कारण सिकिस्त बनेका एक बिरामीको सफल उपचार भएको छ। स्वयम्भूका ४२ वर्षीय सन्तोष शर्मा (नामथर परिवर्तन) उपचारपछि मंगलबार डिस्चार्ज भएका छन्। इक्मो (एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन) रिट्रिभलमार्फत उपचार गरिएको सिभिल अस्पतालमा यो पहिलो पटक हो।
तीन महिनाअघि सिभिल अस्पतालमा भित्र्याइएको इक्मो उपकरणमार्फत शर्माको गम्भीर निमोनियाका कारण पूर्णरूपमा संक्रमित भएको फोक्सोको सफल उपचार गरिएको हो।
उक्त उपचारमा सिभिल अस्पतालको सघन उपचार कक्षका इकाइ प्रमुख डा. प्रदीप तिवारी, ग्रान्डी अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी, एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारी तथा नर्सिङ स्टाफहरू संलग्न थिए।
चिकित्सकका अनुसार शर्मालाई तीन सातादेखि लगातार खोकी लाग्ने र श्वास फेर्न कठिनाइ हुने समस्या देखिएको थियो। त्यसपछि उनले पारिवारिक चिकित्सकसँग परामर्श गरेका थिए। चिकित्सकले तत्काल अस्पताल जान सुझाव दिएपछि उनी स्वयम्भूस्थित मनमोहन अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए।
अस्पताल पुगेपछि निमोनिया भएको पुष्टि भएपछि उनलाई तीन साताअघि नै आईसीयूमा भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पतालका चिकित्सकले थप उपचारका लागि सिभिल अस्पतालको क्रिटिकल केयर युनिटसँग सम्पर्क गरेका थिए।
सोही सम्पर्कका आधारमा डा. प्रदीप तिवारी र ग्रान्डी अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. ठाकुर इक्मो मेसिनसहित स्वयम्भूस्थित अस्पताल पुगेका थिए। शर्मामा इक्मो उपकरण जडान गरेपछि उनलाई उक्त उपकरणसहित सिभिल अस्पताल ल्याइएको थियो।
सिभिल अस्पतालमा भर्ना गरेपछि ११ दिनसम्म इक्मोमा राखेर उपचार गरिएको थियो। त्यसपछि थप तीन दिन आईसीयूमा निगरानीमा राखेर मंगलबार डिस्चार्ज गरिएको हो। लामो उपचारपछि निको भएका शर्मा खुसी हुँदै घर फर्किएका छन्।
डिस्चार्ज हुने क्रममा शर्माले नागरिकसँग भने, “धेरै धन्यवाद डाक्टरसापहरूलाई। उहाँहरूको योगदानले म बाँच्न सफल भएँ।”
कोभिड–१९ को समयमा विकसित देशहरूमा यो प्रविधिमार्फत श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार गरिएको थियो। नेपालमा भने यो प्रविधि मुटु तथा फोक्सोका गम्भीर समस्यामा प्रयोग गर्ने उद्देश्यले भित्र्याइएको हो। पछि मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु भएपछि प्रत्यारोपणमा पनि यो प्रविधिको प्रयोग हुने डा. तिवारीले जानकारी दिए।
उपचारका क्रममा गरिएको परीक्षणमा शर्मामा इन्फ्लुएन्जा ए संक्रमण पुष्टि भएको उपचारमा संलग्न चिकित्सक डा. ठाकुरले बताए। उक्त संक्रमणका कारण फोक्सोमा गम्भीर क्षति पुगेको र भेन्टिलेटरबाट मात्र उपचार सम्भव नभएपछि इक्मो प्रविधिको विकल्प रोजिएको उनले जानकारी दिए।
डा. तिवारीका अनुसार इक्मो प्रविधिले मुटु र फोक्सोले प्रभावकारी रूपमा काम गर्न नसकेको अवस्थामा सहयोगी उपकरणका रूपमा काम गर्छ। परम्परागत भेन्टिलेटरसँगै प्रयोग गरिने यस प्रविधिले फोक्सोको नलीमा जम्मा भएको कार्बन डाइअक्साइडयुक्त रगत शरीरबाट बाहिर निकालेर त्यसमा अक्सिजन मिसाई पुनः शरीरमा पठाउने काम गर्छ। यसले मुटु तथा फोक्सोलाई केही समय आराम दिँदै बिरामीको स्वास्थ्य सुधारमा सहयोग पुर्याउँछ।
मुटुले प्रभावकारी रूपमा रगत पम्प गर्न नसकेको अवस्थामा पनि इक्मोले केही समयका लागि मुटु र फोक्सोलाई सहयोग गर्छ। बिरामी निको हुने क्रममा शरीरमा पर्याप्त रगत तथा अक्सिजनको आपूर्ति सुनिश्चित गरी थप जटिलता हुन नदिन पनि यो प्रविधि प्रयोग गरिन्छ।
त्यसैगरी, मुटु तथा फोक्सो प्रत्यारोपणका क्रममा पनि इक्मो प्रविधिको प्रयोग हुन्छ। प्रत्यारोपणअघि उपयुक्त दाताको अंग उपलब्ध नहुँदासम्म बिरामीलाई इक्मोमा राख्न सकिने डा. तिवारीले जानकारी दिए।
गत साउनमा खरिद प्रक्रियामार्फत सिभिल अस्पतालले भित्र्याएको उक्त उपकरणको मूल्य १ करोड ५० लाखदेखि १ करोड ८० लाख रुपैयाँसम्म पर्ने बताइएको छ।
सिभिल अस्पतालभन्दा अगाडि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इक्मो उपकरण भित्र्याइएको थियो।
उपचारमा संलग्न चिकित्सकद्वय डा. ठाकुरले बेलायत र डा. तिवारीले क्यानडामा इक्मो उपचारसम्बन्धी तालिम प्राप्त गरेका थिए।
प्रकाशित: १७ कार्तिक २०८३ १७:५० मंगलबार


-600x400.jpg)


