२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

अनशनरत नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रियो, उपचारसमेत अस्वीकार

चार दिनदेखि आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। उनको हेरचाहमा खटिएका नर्सहरूका अनुसार रानाभाटले उपचारसमेत अस्वीकार गरेकी छन्।

रानाभाटले गत बिहीबारदेखि नेपाल नर्सिङ परिषद्को हाताभित्र १५ बुँदे माग राख्दै आमरण अनशन सुरु गरेकी हुन्। अनशनको चौथो दिन आइतबार उनको स्वास्थ्यमा थप समस्या देखिएको नर्स गीता बरालले जानकारी दिइन्।

उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा टेपवर्म (आन्द्रामा हुने परजीवी संक्रमण) समेत देखिएको छ। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शनिबार उनलाई वीर अस्पताल लगिएको थियो। पानीसमेत पिउन अस्वीकार गरेपछि शरीरमा जलवियोजन हुन नदिन सलाइन चढाइएको थियो।

‘पानीसमेत नखाँदा जलवियोजनको जोखिम बढेपछि सलाइन दिइएको हो। तर आज उहाँले कुनै पनि उपचार लिन अस्वीकार गर्नुभएको छ,’ नर्स बरालले भनिन्।

रानाभाटले गत वर्ष २०८२ असोजमा आन्दोलनरत नर्सहरू र सरकारबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलन सुरु गरेकी हुन्। उनका अनुसार वार्तामार्फत भएका सहमतिहरू करिब एक वर्ष बित्न लाग्दा पनि कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको हो।

अनशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरी मौखिक रूपमा आश्वासन दिएको भए पनि लिखित प्रतिबद्धता नआएकाले अनशन तोड्न अस्वीकार गरेको नर्स बरालले बताइन्।

रानाभाटले नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण, बिरामी सुरक्षाको सुनिश्चितता तथा स्वास्थ्य क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेकी छन्।

उनका प्रमुख मागहरूमा पर्याप्त नर्सिङ दरबन्दी सिर्जना, न्यूनतम पारिश्रमिकको सुनिश्चितता, ठेक्का तथा करार प्रणालीको अन्त्य, नर्सिङ शिक्षाको गुणस्तर सुधार तथा विभेदकारी कानुनी व्यवस्थाको अन्त्य रहेका छन्।

उनले न्यून सेवा–सुविधा र सुरक्षित कार्य वातावरणको अभावका कारण दक्ष नर्स तथा मिडवाइफहरू विदेश पलायन भइरहेकाले त्यसले नेपालको स्वास्थ्य प्रणालीमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै तत्काल सुधारका कदम चाल्न सरकारसँग आग्रह गरेकी छन्।

त्यस्तै, सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै नर्स र मिडवाइफलाई सरकारले तोकेबमोजिमको सेवा–सुविधा उपलब्ध गराउने, वैज्ञानिक बिरामी–नर्स अनुपातका आधारमा दरबन्दी कायम गर्ने तथा नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने मागसमेत उनले अघि सारेकी छन्।

प्रकाशित: १७ श्रावण २०८३ १६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App