यस वर्षको ‘विश्व मुटु दिवस’ उदयपुरको कटारीमा पनि मनाइएको छ। हरेक सेप्टेम्बर २७ का दिन पर्ने मुटु दिवसको अवसर पारेर शनिबार प्रादेशिक अस्पताल कटारीमा एक कार्यक्रम गरी मनाइएको हो।
सो अवसरमा अस्पतालमा ‘शारीरिक मास अनुपात (बिएमआई) कार्यक्रम’ सम्पन्न गरियो। ‘मुटुलाई धडकिन देऊ’ भन्ने नारासहित आयोजित कार्यक्रममा सहभागीहरू सबैको तौल, उचाइ र रक्तचाप (ब्लड प्रेसर) परीक्षण गरिएको थियो।
जस अनुसार १ सय २३ जना सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरव साहले बताए। उनका अनुसार कार्यक्रममा ५८ पुरुष र ६५ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए। जसमा ५० जनाको बिएमआई असामान्य रहेको पाइएको छ भने अन्यको सामान्य देखिएको छ।
डा. साहले असन्तुलित तौल नै मुटु रोगको प्रमुख जोखिम कारक हुने बताउँदै तौल व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य परामर्श तथा सुझाव दिइएको बताए। अनावश्यक तौल नै मुटु रोगको प्रमुख कारण हुने भएकाले तौल नबढाउन तथा बढी भए घटाउन नियमित शारिरीक व्यायाम र स्वस्थ्यकर खानपानको जीवन शैली अपनाउन डा. साहलगायत मुटु सम्बन्धी चिकित्सकले सुझाए।
कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले तौल, उचाइ र रक्तचाप परीक्षण गराएर उद्घाटन गरेको कार्यक्रममा मेसु साहले मुटु रोगबाट बँच्न अपनाउनुपर्ने विभिन्न तरिका तथा जीवनशैली, खानपान र नियमित स्वास्थ्य परीक्षणबारे महत्व दर्शाएका थिए। कार्यक्रमको अन्त्यमा मेयर श्रेष्ठलगयात सहभागीहरुले ‘शरीरको तौल सन्तुलन राखौँ, मुटु रोगबाट बचौँ’ भन्ने सन्देश पारित गर्दै सबैसामु पुग्ने गरी व्यापक प्रचारप्रसार गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
नेपाल हृदय रोग निवारण केन्द्र उदयपुरका अध्यक्ष पवन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम प्रादेशिक अस्पताल कटारीको प्राविधिक समन्वय तथा कटारी चेम्वर अफ कमर्स र ज्योति विकास बैंक कटारीको सहयोगमा सम्पन्न भएको हो।
प्रकाशित: ११ आश्विन २०८२ १५:३७ शनिबार





