२४ मंसिर २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु, मिर्गौलाका बिरामीले राहत पाउने विश्वास

भक्तपुर अस्पतालले बुधबारदेखि डायलासिस सेवा पनि दिन सुरु गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा अस्पतालमा ५ बेडको डायलासिस सेवाको सुरुआत भएको हो ।

मिर्गौलाले काम नगर्ने बिरामीले डायलासिस गर्नुपर्छ । भक्तपुर अस्पतालकै परिसरभित्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस सेवा छ । तथापि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन ।

प्रत्यारोपण केन्द्रमा डायलासिसको समय नपाएपछि दैनिक दर्जनौं बिरामी निजी क्लिनिकमा डायलासिस गराउन बाध्य छन् । निजीमा एकपटक डायलासिसको सामान्य शुल्क रु २ हजार ५ सयदेखि ५ हजार ५ सयसम्म पर्छ । मिर्गौला बिरामीले महिनामा औसत ८ देखि १२ पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ । यसका लागि नजिकैको मिर्गौला अस्पतालमा हप्ता र महिना दिन कुर्नुपर्ने समस्या थियो । निजीमा नियमित उपचार गराउँदा यो धेरै महँगो पर्छ । यही कारण मिर्गौलाका बिरामीका लागि राहत हुने विश्वास गरिएको छ ।

अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले अस्पतालले दैनिक तीन दर्जन बिरामीलाई सेवा दिन सकिने जानकारी दिए । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा अस्पतालमा ५ बेडको डायलासिस सेवाको सुरुआत भएको उनले जनाए । एउटा मेसिनलाई आकस्मिक सेवाका लागि राखी बाँकी ४ मेसिनबाट दैनिक ३ सिफ्ट सञ्चालन गरी एकैदिन ३६ जनासम्म मिर्गौला फेल भएका बिरामीलाई डायलासिस सेवा प्रवाह गर्न सकिन्छ, उनले भने ।  

सेवाको सुरुआत गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले बागमती प्रदेश अन्तर्गतका १३ अस्पतालमध्ये ११ अस्पतालमा डायलासिस सेवा सुरु भइसकेको जानकारी दिए । उनले मन्त्रालयले गर्दै आएका विभिन्न सेवाहरूबारे पनि कार्यक्रममा विस्तृत जानकारी दिए । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापालगायतले यो सेवा विपन्न वर्गका लागि अस्पतालमा निःशुल्क हुने बताए ।  

काठमाडौँको वीर अस्पतालपछिको देशकै दोस्रो जेठो यो अस्पताल विगतमा बिरामीको रिफर सेन्टरको रूपमा सीमित थियो । तर हालका वर्षहरूमा यसले विस्तारै सुविधालाई चुस्तदुरुस्त पार्दै आएको छ । विगतमा सङ्घ अन्तर्गत रहेको र हाल बागमती प्रदेश सरकार मातहत सञ्चालित अस्पतालले आइसियु, एनआइसियु, एचडियुसहित अत्याधुनिक शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । गत जेठदेखि ८ करोड लागतमा अस्पतालले सिटी स्क्यान सेवा पनि सञ्चालन गर्न सफल भएको थियो । अस्पतालमा ल्याब रिपोर्ट पनि क्यूआर कोडमार्फत उपलब्ध हुने गरेको छ ।

प्रकाशित: १४ श्रावण २०८२ २१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App