२१ मंसिर २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

बिरामी बढेपछि भरतपुर अस्पतालमा दन्त सेवा विस्तार

चितवनको भरतपुर अस्पताललले दन्त उपचार सेवालाई थप परिष्कृत गर्दै लगेको छ। संघीय अस्पतालअन्तर्गत पर्ने यस अस्पतालले दन्त विभागमार्फत दैनिक सेवामा परिष्कृत गर्दै लगेको हो।

दन्त रोगका बिरामी बढ्दै गएपछि सेवा विस्तार, उपकरण अभिवृद्धि र विशेषज्ञ चिकित्सकको व्यवस्थापनमा विशेष ध्यान दिइएको दन्त विभागका विभागीय प्रमुख डा. अजय न्यौपानेले जानकारी दिए।

उनका अनुसार अस्पतालमा दन्त परीक्षण, दन्त सफाइ, फिलिङ, रुट क्यानाल, दाँत उप्काउनेदेखि लिएर जटिल मर्मतसम्मका सेवा उपलब्ध छन्। सेवा सहज र पहुँचयोग्य भएकाले भरतपुर तथा आसपासका जिल्लाका सर्वसाधारणले यस अस्पताललाई प्राथमिक विकल्पका रूपमा लिँदै आएको उनले बताए।

उनका अनुसार दन्त उपचार सेवा अझ प्रभावकारी बनाउन प्रविधि तथा बिरामीमैत्री वातावरण विस्तार गरिएको छ। समयतालिका र अप्वान्टमेन्ट प्रणाली लागु गरिएकाले सेवा लिन सहज भएको उनले बताए।

दैनिक रूपमा दाँत निकाल्ने सेवा, दुखेको दाँतको जरासम्मको सफाइ, सामान्य कम्पोजिट फिलिङ, बालबालिकाका बिग्रिएका दाँतका लागि बेसिस बाइन्डिङ तथा दाँत नभएका ज्येष्ठ नागरिकका लागि कृत्रिम दाँत उपलब्ध गराइँदै आएको उनले बताए।

दन्त विभागमा बिरामीको चाप अत्यधिक हुने भएकाले दैनिक सयौं बिरामी उपचारका लागि आइपुग्ने  छन्। रोकथाम र उपचार दुवै सेवा दिनुपर्ने भएकाले समय बढी लाग्ने र चाप बढ्ने गरेको छ। यसलाई व्यवस्थापन गर्न अपोइन्टमेन्ट प्रणाली प्रभावकारी माध्यम बनेको उनले बताए।

हाल दन्त रोग विभागमा २९ जना दन्त चिकित्सक कार्यरत छन्। दैनिक डेढ सय बिरामी उपचारका लागि आउने गरेको उनले बताए।

डा. न्यौपानेका अनुसार अहिले पनि आम नेपालीमा दाँतमा किरा लाग्ने समस्या नै प्रमुख हो, जसले बालबालिकादेखि सबै उमेरका मानिसलाई प्रभावित गरिरहेको छ।

उनले भने, ‘धेरैजसो बिरामी अन्तिम अवस्थामा मात्र दाँत निकाल्न आउनुहुन्छ, तर दन्त रोगका समयमै उपचार गरे धेरै दाँत बचाउन सकिन्छ।’

बालबालिकामा दन्त समस्याबाट जोगिन सुरुदेखि नै रोकथाममा ध्यान दिनुपर्ने उनको सुझाव छ। उनले भने, ‘दिनमा दुईपटक बिहान खानापछि र सुत्नुअघि नियमित ब्रस गर्नु अत्यावश्यक छ। अझै पनि धेरैले बेलुका ब्रस गर्ने बानी बसालेका छैनन्, त्यो अभ्यास बनाउनुपर्छ।’

उनका अनुसार आधुनिक खानपान, प्रशोधित खाद्य पदार्थ र अनियमित जीवनशैलीका कारण दन्त समस्या बढ्दो छ। धेरैजसो बिरामी दाँत दुखेपछि वा समस्या भएपछि मात्र अस्पताल आउने गर्छन् तर दाँत दुखेपछि मात्र नभई समयसमयमा नियमित दन्त परीक्षण गराउन अत्यावश्यक रहेको उनले बताए।  

प्रकाशित: २१ मंसिर २०८२ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App