पछिल्ला तीन वर्षयता नेपालमा डेंगी संक्रमणको दर निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२३ मा ५२ हजार ७ सय ९०, सन् २०२४ मा ४१ हजार ८ सय ६५ र सन् २०२५ मा ८ हजार ९ सय २५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यस आधारमा सन् २०२५ मा संक्रमण अघिल्लो वर्षको तुलनामा करिब पाँच गुणाले घटेको देखिन्छ।
महाशाखाले मंगलबार आयोजना गरेको प्रकोपजन्य रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार संक्रमण घटे पनि मनसुनका कारण जोखिम भने अझै कायम रहेको जनाएको छ।
इपिडिमियोलोजी तथा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले स्थानीय तह, स्वास्थ्य निकाय र समुदायको सक्रिय खोज तथा नष्ट अभियान, जनचेतना अभिवृद्धि र सरसफाइ अभियानको प्रभावले संक्रमण घटेको बताए।
उनले भने, “कोभिडपछिका वर्षमा उच्च रहेको डेंगी संक्रमण अहिले जनचेतना, निरन्तर सरसफाइ र बच्ने उपायबारे गरिएको प्रयासका कारण घटेको हो। तर जोखिम भने अझै हटेको छैन।”
उनका अनुसार नेपालमा वर्षभरि नै डेंगी संक्रमण देखिने भए पनि मनसुनका बेला यसको जोखिम उच्च हुन्छ। त्यसैले हरेक परिवार, समुदाय र स्थानीय तहले ‘खोज र नष्ट’ अभियानलाई निरन्तरता दिनुपर्ने उनले जोड दिए।
डा. दाहालका अनुसार चालु आर्थिक वर्षमा जोखिम न्यूनीकरणका लागि जनचेतना कार्यक्रम, स्वास्थ्यकर्मीलाई केस व्यवस्थापन तालिम, बहुक्षेत्रीय समन्वय, खोज तथा नष्ट अभियान, क्लब, विद्यालय र युवा सञ्जाल परिचालन तथा विद्यालयस्तरीय सचेतना कार्यक्रम सञ्चालन भइसकेका छन्।
असारदेखि भदौसम्म प्रकोपजन्य रोगको उच्च जोखिम
महाशाखाले असारदेखि भदौसम्मको अवधि प्रकोपजन्य संक्रामक रोगको उच्च जोखिम हुने मौसम भएकाले सबैलाई सचेत रहन आग्रह गरेको छ।
मंगलबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा महाशाखाले डेंगी, स्क्रब टाइफस, हैजा, जापानिज इन्सेफ्लाइटिस तथा सर्पदंशका घटना यही मौसममा बढ्ने जनाएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. विमल चालिसेले नेपालमा मनसुनका बेला सबैभन्दा बढी सर्पदंशबाट मृत्यु हुने गरेको बताए।
उनले भने, “नेपालमा प्रत्येक वर्ष करिब ३ हजार जनाको सर्पदंशका कारण मृत्यु हुने गरेको अनुमान छ। अहिले पनि मधेश प्रदेशमा सर्पदंशबाट मृत्युका घटना बढी देखिएका छन्।”

प्रकोप व्यवस्थापनका लागि द्रुत प्रतिकार्य प्रणाली तयारी अवस्थामा
महाशाखाको प्रकोप व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोखरेलले असारदेखि भदौसम्म समुदाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र सरकारी निकायबीच समन्वय अत्यावश्यक रहेको बताए।
उनका अनुसार यस वर्षको प्रकोप व्यवस्थापन प्रणाली अघिल्ला वर्षभन्दा फरक ढंगले तयार गरिएको छ। नागरिक, समुदाय, सञ्चारमाध्यम, स्वास्थ्य संस्था तथा सबै तहका सरकारी निकायबाट प्राप्त सूचनाका आधारमा तत्काल प्रतिकार्य हुने संयन्त्र विकास गरिएको उनले जानकारी दिए।
देशभरका ७५३ स्थानीय तह, स्वास्थ्य संस्था, जिल्ला तथा प्रदेशस्तरका निकायलाई कुनै पनि मनसुनजन्य रोग देखिएलगत्तै अनलाइन प्रणालीमार्फत महाशाखामा जानकारी गराउने व्यवस्था गरिएको छ।
यस वर्षदेखि सर्वसाधारणले पनि कुनै प्रकोपजन्य रोग देखिएमा ‘हेलो सरकार’को ११५५ नम्बरमा फोन गरेर प्रत्यक्ष सूचना दिन सक्ने व्यवस्था गरिएको डा. पोखरेलले बताए।
उनले भने, “समुदाय, सञ्चारमाध्यम र स्वास्थ्य संस्थाबाट समयमै सूचना आए तत्काल द्रुत प्रतिकार्य गर्न सकिने संरचना तयार छ। यस वर्ष हामी सूचना प्राप्त हुनासाथ प्रतिकार्यमा जाने गरी तयारी अवस्थामा छौं।”
‘७–१–७ फ्रेमवर्क’ अनुसार तत्काल पहिचान र प्रतिकार्य
डा. पोखरेलका अनुसार पहिलेजस्तो रोग फैलिसकेपछि नियन्त्रणमा जाने होइन, प्रारम्भिक संकेतकै आधारमा खोज, पुष्टि र प्रतिकार्य गर्ने प्रणाली लागू गरिएको छ।
सबै स्थानीय तहमा द्रुत प्रतिकार्य टोली गठन, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री मौज्दात, टोलीको क्षमता अभिवृद्धि तथा आवश्यकता अनुसार तत्काल परिचालन गर्ने व्यवस्था मिलाइएको उनले बताए।
‘७–१–७ फ्रेमवर्क’ अनुसार संक्रमणलाई सकेसम्म सात दिनभित्र पहिचान गरी तत्काल प्रतिकार्य गर्ने लक्ष्यसहित तयारी गरिएको उनको भनाइ छ।
समुदायको सहकार्यबिनै प्रकोप नियन्त्रण सम्भव छैन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. अनुज भट्टचनले मनसुनका बेला डेंगीसँगै हैजा, स्क्रब टाइफस र जापानिज इन्सेफ्लाइटिसजस्ता रोगको जोखिम पनि उच्च हुने बताए।
उनले भने, “प्रकोप फैलिसकेपछि नियन्त्रण गर्नु भन्दा त्यसअघि नै सूचना संकलन, निगरानी र द्रुत प्रतिकार्यमार्फत क्षति हुन नदिनु हाम्रो प्राथमिकता हो। त्यसका लागि समुदाय, स्वास्थ्यकर्मी, स्थानीय तह र सञ्चारमाध्यमबीचको सहकार्य अपरिहार्य छ।”
प्रकाशित: २३ असार २०८३ १८:१२ मंगलबार





