बर्खासँगै डेङ्गी सङ्क्रमणको जोखिम उच्च हुन्छ । त्यसमाथि डेङ्गीको उद्गम स्थल मानिने भरतपुर महानगरपालिका अझ बढी जोखिममा छ । यहाँका कर्मचारीलाई डेङ्गी नियन्त्रण गरिदिन फोन आइरहन्छ । हिजोआज विषादी नै छर्किन अनुरोध गर्नेहरू फोन उठाउन कर्मचारीलाई भ्याई नभ्याई छ । महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार यहाँका विभिन्न स्थानबाट डेङ्गी संक्रमण गर्ने लामखुट्टे नियन्त्रण भन्दै दैनिक फोन गर्ने गर्दछन् ।
‘स्कुल, टोलबाट हामीलाई डेङ्गी नियन्त्रणका लागि विषादी छर्किदिन भन्दै फोन आइरहन्छ,’ जनस्वास्थ्य अधिकृत भट्टले भने ‘विषादी छर्नका लागि दैनिक तीन/चार वटा फोन नआएको त दिन नै हुँदैन ।’ चितवन शिक्षित ठाउँ भएपनि स्कुल तथा टोलबाट नै डेङ्गी नियन्त्रणका लागि विषादी छर्कन माग गर्नुलाई भट्टले अचम्म मानेका छन् । विषादीको माग आएपनि वातावरणीय दृष्टिलाई मध्यनजर गर्दै विषादीको प्रयोग नगरेको उनले बताए । ‘डेङ्गी नियन्त्रणका लागि ‘माथिन’ नामको विषादी छर्कनु पर्दछ । त्यसबाट निस्कने धुवाको असर डेङ्गीमा मात्र पर्दैन पुतली, मौरी, किरा, फ्ट्याङ्ग्रा तथा मानिसमा समेत पर्दछ,’ उनले भने ‘वातावरणीय इको सिस्टममा असर गर्ने गरी हामीले विषादी प्रयोग गर्दैनौँ ।’
भरतपुरमा विगत पाँच वर्षदेखि विषादी नछर्केको उनले बताए । विषादी छर्के पनि डेङ्गी पूर्णरुपमा नियन्त्रणमा आउन नसक्ने उनको भनाई छ । ‘विषादीले बाहिर मात्र हो । पानीमा काम गर्दैन । पानीको पारेको फुल सात दिनपछि लार्भा हुँदै वयस्क भएर निस्कन्छ,’ उनले भने ‘यसको कुनै अर्थ छैन । स्वास्थ्यलाई हानी मात्र पु¥याउँछ।’
विषादी प्रयोग गर्नु मानवीय तथा वातावरणीय दृष्टिमा नराम्रो रहेको वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् । उनका अनुसार विषादीले क्यान्सरदेखि श्वासप्रश्वास तथा छाला सम्बन्धी बढी रोग लाग्ने गर्दछ । समुदायले नै सतर्कता अपनाउनु पर्ने अधिकारीको भनाई छ ।
सङ्क्रमणको जोखिम बढेपछि डेङ्गी नियन्त्रणको अभियान थालेको जनस्वास्थ्य अधिकृत भट्टले बताए । महानगरले डेङ्गीको जोखिमयुक्त क्षेत्रमा बुधबारदेखि सचेतना अभियान सहित लामखुट्टेको लार्भा नष्ट अभियान थालेको हो । ‘भरतपुरको मुख्य बजारी क्षेत्रमा डेङ्गीको उच्च जोखिममा छ,’ उनले भने ‘अहिले डेङ्गी फैलिनुभन्दा अगाडि सचेतना सहित अभियान सञ्चालन गरेका छौँ ।’ भरतपुरका सबै टोलमा पुग्ने योजना रहेको उनले बताए । उनका अनुसार चितवनमा हालसम्म २२ जनामा डेङ्गी देखिएको छ । चितवनमा गत वर्ष दुई हजार हाराहारीमा डेङ्गी देखिएको थियो । त्यसमध्ये एक हजार दुई सय जना भरतपुर महानगरका रहेका थिए ।
महानगर प्रमुख रेनु दाहालले समुदायको अग्रसरतामा अभियान तीव्र बनाउन लागेको बताइन् । महानगर उपप्रमुख चित्र सेन अधिकारीले महानगरमा जोखिम न्यूनीकरणको लागि तयारी थालिएको बताए । नेपालमै पहिलो पटक चितवनमा डेङ्गी रोगका बिरामी फेला परेका थिए । त्यसयता एक दुई वर्षको अन्तरालमा डेङ्गीले महामारीका रुपमा फैलिने गरेको छ ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी संक्रमण हुन्छ। डेङ्गी संक्रमणका सुरुवाती दिनमा शरीरभरि रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, मांसपेशी दुख्ने, गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखा पर्ने चिकित्सकहरू बताउँछन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्टाएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । डेङ्गी सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ ।
प्रकाशित: २५ श्रावण २०८२ १६:३८ आइतबार





