भक्तपुर क्यान्सर अस्पतालमा बुवाको उपचार गराइरहेका गोकर्णेश्वरका रामकुमार श्रेष्ठका दिन यतिबेला औषधि खोज्दै बितिरहेका छन्।
पाँच सातादेखि किमोथेरापीमा आवश्यक औषधि अभाव भएपछि उनलाई अस्पतालबाहिर धाउनुपर्ने बाध्यता परेको हो। कलेजोको क्यान्सरबाट पीडित बुवाका लागि आवश्यक औषधि अस्पतालको फार्मेसीमा नपाइएपछि उनी दिनहुँजसो औषधि खोज्न भौतारिरहेका छन्।
‘आजलाई जुटाइयो, अर्को पटकका लागि छैन,’ उनले भने।
अन्तर्राष्ट्रिय बजारमा क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्य बढ्नुका साथै उत्पादन घटेपछि आयातकर्ता कम्पनीहरूले अस्पतालमा नियमित आपूर्ति गर्न नसकेको बताइएको छ। त्यसको प्रत्यक्ष असर बिरामी र अस्पतालमा परेको छ।
बुधबार आमाको क्यान्सर उपचारका लागि अस्पताल पुगेका कुलेश्वरका आमोद अधिकारीले पनि निकै कठिनाइपछि मात्र कार्बोप्लाटिन पाए।
भक्तपुरबाट मेरियट होटल आसपासको क्षेत्रमा पुगेर औषधि खोजेका उनी दिउँसो करिब २ बजे मात्र औषधि लिएर अस्पताल फर्किन सके। उनले कार्बोप्लाटिनका लागि एक हजार तीन सय रुपैयाँ तिरेका थिए।
यी दुई प्रतिनिधि उदाहरण मात्र हुन्। अस्पतालमा उपचाररत धेरै बिरामीका आफन्त अहिले आवश्यक औषधि खोज्दै भौतारिन बाध्य छन्। सरकारले दोस्रो चरणमा औषधि आयात गर्ने कम्पनीहरूको नाम अस्पताललाई उपलब्ध गराए पनि ती कम्पनीबाट समेत सहज रूपमा औषधि प्राप्त हुन नसकेको बिरामीका परिवारको गुनासो छ।
अस्पतालको किमोथेरापी डे-केयर शाखाकी इन्चार्ज बिना श्रेष्ठका अनुसार कार्बोप्लाटिन मुस्किलले उपलब्ध भए पनि सिसप्लाटिन भने कतै पाइएको छैन।
‘कार्बोप्लाटिन बल्लतल्ल पाइएको छ, सिसप्लाटिन कतै पाइएको छैन,’ उनले भनिन्। पहिल्यै औषधि जोहो गरेर राखेका बिरामीहरू भने तत्कालीन संकटबाट जोगिएका छन्।
अस्पताल फार्मेसीकी इन्चार्ज अनिता दुवालका अनुसार सिसप्लाटिन एक सातादेखि पूर्ण रूपमा अभाव छ। ‘बिचमा सिसप्लाटिन आएको थियो, अहिले फेरि अभाव भएको छ,’ उनले भनिन्।
उनका अनुसार केही मात्रामा भारतबाट ल्याइएका औषधि बिक्री भइरहे पनि ती सहज र सर्वसुलभ छैनन्। अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. रोशन प्रजापतिका अनुसार कतैबाट पनि सिसप्लाटिन उपलब्ध हुन नसकेपछि अस्पतालमा आएका बिरामीलाई उक्त औषधिबिनै किमोथेरापी र रेडियोथेरापी दिनुपर्ने बाध्यता सिर्जना भएको छ।
उपचार नै रोक्नुभन्दा औषधिबिनै थेरापी दिनु कम जोखिमपूर्ण विकल्प भएकाले यस्तो निर्णय गर्नुपरेको उनले बताए। किमोथेरापी उपचारमा सामान्यतः जेम्सिटाबिन, कार्बोप्लाटिन र प्याक्लिट्याक्सेलजस्ता औषधिको मिश्रण प्रयोग गरिन्छ।
‘नपाएपछि सिसप्लाटिनबिनै पनि किमोथेरापी दिएका छौं। उपाय नै नभएपछि त्यसो गर्नुपरेको हो,’ उनले भने। तर सिसप्लाटिन आवश्यक पर्ने क्यान्सरमा उक्त औषधिबिनै उपचार गर्दा अपेक्षित प्रभाव नपर्ने र क्यान्सर नियन्त्रणमा कमी आउन सक्ने जोखिम रहने उनको भनाइ छ।
यसले क्यान्सर शरीरका अन्य भागमा फैलिने सम्भावनासमेत बढाउन सक्छ। ‘थाहा पाईपाई चाहिएको औषधिबिनै उपचार गर्नुपर्दा दुःख लाग्छ,’ डा. प्रजापतिले भने। उनका अनुसार सिसप्लाटिन अनिवार्य हुने क्यान्सर तथा थेरापीमा औषधि अभावले बिरामी कुनै न कुनै रूपमा प्रभावित भइरहेका छन्।
अस्पतालमा उपचाररत करिब ७५ प्रतिशत बिरामी कार्बोप्लाटिन आवश्यक पर्ने उपचारमा छन् भने रेडियोथेरापीमा सिसप्लाटिन अनिवार्य रूपमा प्रयोग गरिन्छ। सिसप्लाटिनको मिश्रणसहित रेडियोथेरापी दिँदा उपचारको प्रभावकारिता बढ्ने, क्यान्सर कोष नष्ट गर्न सहयोग पुग्ने र रेडियोथेरापीप्रतिको प्रतिरोध कम हुने चिकित्सकहरू बताउँछन्।
‘सिसप्लाटिनबिनै उपचार गर्नुपर्दा हामीलाई पनि पीडा हुन्छ,’ उनले भने, ‘दुर्गम क्षेत्रबाट आएका बिरामी तीन हप्तापछि फर्केर आउँदा फेरि यही अवस्था भयो भने के हुन्छ ?’
अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी आर्थिक रूपमा कमजोर वर्गका छन्। उनीहरू स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार गराइरहेका हुन्छन्। औषधि अभावको सबैभन्दा ठुलो मार यही वर्गमा परेको चिकित्सकहरूको भनाइ छ।
आर्थिक रूपमा सक्षम बिरामी भारतसम्म पुगेर औषधि ल्याउन सफल भए पनि अधिकांश बिरामी अस्पतालकै भरमा छन्। ‘मुख्य समस्या स्वास्थ्य बिमामार्फत उपचार गराइरहेका बिरामीलाई परेको छ। उनीहरूसँग बाहिर खोजेर औषधि किन्ने आर्थिक क्षमता हुँदैन। अस्पतालमै औषधि नहुँदा उपचारमा प्रत्यक्ष अवरोध पुगेको छ,’ डा. प्रजापतिले भने।
प्रकाशित: ३ असार २०८३ २०:४१ बुधबार


-600x400.jpg)


