२३ असार २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

शिक्षित आमामै घट्दो स्तनपान

खोटाङको तथ्याङ्कले देखायो चिन्ताजनक अवस्था

शिक्षित महिलाहरूले नै नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्य सार्वजनिक भएको छ। सहरी क्षेत्रमा बशिक्षित आमामै घट्दो स्तनपान, खोटाङको तथ्याङ्कले देखायो चिन्ताजनक अवस्थासोबास गर्ने, शिक्षित र सचेत मानिने आमाहरूमा समेत शिशुलाई आवश्यक मात्रामा स्तनपान गराउने दर सन्तोषजनक नरहेको तथ्याङ्कले देखाएको हो।

सोमबार खोटाङ सदरमुकाम दिक्तेलमा जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आयोजना गरेको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण) ऐन, २०४९ तथा यसको मुख्य प्रावधान’ सम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्याङ्कले यस्तो अवस्था उजागर गरेको हो।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार आधारभूत शिक्षा हासिल गरेका ६१ प्रतिशत र माध्यमिक तहसम्म अध्ययन गरेका ५३ प्रतिशत आमाले नवजात शिशुलाई पर्याप्त स्तनपान गराएका छैनन्। उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाले भने शिशुलाई स्तनपान गराउनुको सट्टा दूधदानी (फिडिङ बोतल) को प्रयोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ।

प्रदेशस्तरको तथ्याङ्कअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ४७ प्रतिशत मात्र रहेको छ भने ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५३ प्रतिशत छ। यद्यपि खोटाङको अवस्था भने तुलनात्मक रूपमा राम्रो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्कअनुसार खोटाङमा शिशु जन्मिएको एक घण्टाभित्र ९८.६५ प्रतिशत आमाले स्तनपान सुरु गराउने गरेका छन् भने ७३.०१ प्रतिशत शिशुले ६ महिनासम्म पूर्ण स्तनपान पाउने गरेका छन्। स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरूमा नियमित स्तनपान गराउने दर बढी रहेको तथ्याङ्कले देखाएको छ।

सन् २०२२ मा सार्वजनिक तथ्याङ्कअनुसार सन् २००२ मा २२ प्रतिशत आमाले शिशुलाई दूधदानीबाट दूध खुवाउने गरेका थिए। पछिल्ला वर्षहरूमा दूधदानीको प्रयोग बढ्दै जानुले शिशु स्वास्थ्यमा थप चुनौती सिर्जना गर्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

अन्तर्क्रियामा सहभागी ।

स्वास्थ्य विज्ञानका अनुसार नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउँदा शारीरिक तथा मानसिक विकासमा प्रतिकूल असर पर्छ। पर्याप्त आमाको दूध नपाएका शिशुमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण तथा मोटोपनाजस्ता समस्या देखिन सक्छन्। त्यस्तै, स्तनपान नगराउने आमाहरूमा स्तन क्यान्सर, अण्डाशयको क्यान्सर र दोस्रो प्रकारको मधुमेह हुने जोखिम पनि बढ्ने स्वास्थ्यकर्मीहरूले औँल्याएका छन्।

उनीहरूका अनुसार जन्मिएपछि नियमित स्तनपान गराउन सके नवजात शिशुको ज्यान ७५ प्रतिशतसम्म जोगाउन सकिन्छ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख शिवेन्द्रप्रसाद सिंहले शिशु जन्मिएको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गरी कम्तीमा १८० दिन अर्थात् ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सके पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटाउन सकिने बताए।

उनले जन्मिएलगत्तै शिशुलाई आमाको छातीमा राख्ने, आवश्यक परे नवजात शिशुलाई पुनर्जीवित गर्ने विधि अपनाउने, सङ्क्रमण समयमै पहिचान गरी उपचार गर्ने र पहिलो एक घण्टाभित्र स्तनपान सुरु गराउने अभ्यासले मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयनसँगै ७५३ वटै स्थानीय तह तथा सार्वजनिक स्थलमा स्तनपान कक्ष स्थापना, स्वास्थ्यकर्मीलाई मातृ–शिशु स्वास्थ्यसम्बन्धी तालिम, नियमित परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि सिंहले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि औषधि व्यवसायी, पत्रकार, अस्पताल तथा मेडिकल कलेजका विद्यार्थीहरूसँग बहस र पैरवी कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।

सो ऐनअनुसार शिशु स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने दूध पाउडर वा अन्य प्रतिस्थापन सामग्री उत्पादन वा वितरण गर्ने कम्पनीबाट आर्थिक वा भौतिक उपहार स्वीकार गर्ने, उत्पादनको नमूना वितरण गर्ने वा त्यसको प्रवर्द्धन गर्ने स्वास्थ्यकर्मीलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ। त्यस्तै, प्रमाणीकरणबिनै उत्पादन वा आयात गर्ने तथा लेबलसम्बन्धी व्यवस्था उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई १५ हजार रुपैयाँसम्म जरिवाना, चार महिनासम्म कैद वा दुवै सजायको कानुनी व्यवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार स्तनपानमा सुधार ल्याउन सके मात्रै पनि विश्वभर हरेक वर्ष करिब ८ लाख २० हजार शिशुको ज्यान बचाउन सकिन्छ। अपर्याप्त स्तनपानका कारण वार्षिक करिब ६ लाख बालबालिका र एक लाख महिलाको मृत्यु हुने तथ्याङ्क पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो।

स्वास्थ्य कार्यालयले सबै आमालाई शिशु जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्न, पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउन तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन आग्रह गरेको छ। कार्यालयका अनुसार आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने सामग्रीमा सन् २०१४ मा विश्वभर करिब ४५ खर्ब रुपैयाँ खर्च भएकोमा सन् २०१९ सम्म आइपुग्दा यो रकम बढेर ७२ खर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित: २२ असार २०८३ १८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App