चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि तयारी थालिएको छ । नेपाल सरकारसँग भएको सम्झौता अनुसार, चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)को टोलीले बिहीबार भरतपुरमा आएर बोनम्यारो प्रत्यारोपणको तयारी थालेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलका अनुसार चीनको बोनम्यारो प्रत्यारोपणको विशेषज्ञ टिमले अध्ययन गरिरहेको छ । यहाँको भौतिक संरचना सहित प्रविधिको समेत अध्ययन गर्ने उनले बताए । ‘अहिले पाँच दिन बस्ने गरी सात जनाको टोली अस्पतालमा आइपुगेको छ,’ उनले भने ‘यहाँ उनीहरुले बोनम्यारो सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।’ उनीहरुले मेडिकल अंकोलोजि, आइसियु, प्याथोलोजि, रेडियो थेरापी सम्बन्धी कार्यपत्र पेश गर्नेछन् । साथै नेपालको तर्फबाट समेत विभिन्न विभागको कार्यपत्र प्रस्तुत हुने उनले जानकारी दिए ।
बोनम्यारो प्रत्यारोपण बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा छैन । सरकारसँग भएको सहमति अनुसार चीनको सम्पूर्ण सहयोगमा क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गरिनेछ । यहाँबाट वर्षमा ५० जनासम्म बिरामीको प्रत्यारोपण गर्ने गरी तयारी गरिएको कार्यकारी निर्देशक डा.पौडेलले जानकारी दिए । ‘एउटा बिरामीको प्रत्यारोपण गर्न एक हप्तासम्म लाग्छ,’ उनले भने ‘यही हिसाबमा नियमित गर्न सकियो भने वार्षिक ५० जनासम्मको गर्न सकिन्छ।’
यसको प्रत्यारोपण खर्चिलो रहेको छ । नेपालीले भारतमा गएर १५ देखि २० लाख आइसिमा उपचार गर्ने गरेका छन् । नेपालमा गर्न सके न्यूनतम खर्चमा उपचार हुने उनले बताए । ‘यहाँ भयो भने औषधी लगायतको खर्च बिरामी लाग्छ,’ उनले भने ‘प्राविधिक लगायतका अन्य खर्च लाग्दैन ।’
एक महिनाअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्तामा क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टेसन निर्माण सम्बन्धी परियोजना अघि बढाइएको थियो । क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान विश्वास अस्पतालको छ ।
वि.सं २०५१मा चीन सरकारको सहयोगमा ८० करोड लगानीमा क्यान्सर अस्पताल निर्माण गरिएको थियो । त्यसयता यहाँ निरन्तर चाइनिज स्वास्थ्यकर्मीले समेत बिरामीको उपचार गरिरहेका छन् । यहाँ नेपाल सहित भारतका बिरामी समेत उपचार गर्न आउने गर्दछ । नेपालकै ठुलो क्यान्सर अस्पतालमा अहिले नौ वटा विभागसम्म सञ्चालन गरेको छ । अहिले पोखरा विश्वविद्यालयसँगको अनुमतिमा बिएन कक्षा सञ्चालन गरिसकेको छ ।
प्रकाशित: २९ श्रावण २०८२ १८:४४ बिहीबार





