१ वैशाख २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

बिदाको दिनमा पनि आयुर्वेद अस्पतालको सेवा नरोकिने

सरकारी बिदाले धेरै जसो कार्यालयका ढोका बन्द गर्छन्, तर कर्णालीको सुर्खेतमा भने स्वास्थ्य सेवाको ढोका खुल्लै रहने भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा परे पनि प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले ओपिडी सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ।

अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै बिदाको दिनमा समेत सेवा प्रवाह गर्ने निर्णय गरिएको हो। ‘जनता बिदाको कारणले उपचारबाट वञ्चित हुनुहुँदैन,’ भन्ने मान्यताका साथ अस्पतालले यस्तो कदम चालेको जनाएको छ।

यससँगै, शुक्रबारका दिन पनि बिहान ९ देखि बेलुका ५ बजेसम्म नियमित ओपिडी सेवा सञ्चालन हुने स्पष्ट पारिएको छ। यस निर्णयले बिरामीहरूलाई सहजता मात्र दिएको छैन, स्वास्थ्य सेवाप्रति अस्पतालको उत्तरदायित्व र संवेदनशीलता पनि झल्काएको छ।

पछिल्लो समय अस्पतालमा बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। गुणस्तरीय सेवा, सहज पहुँच र समर्पित स्वास्थ्यकर्मीका कारण सेवाग्राहीहरूको विश्वास दिनानुदिन बलियो बन्दै गएको देखिन्छ। बिदाको दिनमा समेत सेवा दिने अस्पतालको यो पहलप्रति सेवाग्राहीहरूले खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

स्वास्थ्य सेवा कहिल्यै नरोकिने प्रतिबद्धतासहित सुर्खेतको यो आयुर्वेद अस्पतालले अन्य स्वास्थ्य संस्थाका लागि पनि उदाहरणीय सन्देश दिएको छ- सेवा भनेको समयले होइन, आवश्यकता ले निर्धारण गर्छ।

प्रकाशित: २७ चैत्र २०८२ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App