एशोसियसन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्यूसन नेपाल (अफिन) गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने बताएको छ । सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको भोलिपल्ट पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर अफिन गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने जनाएको हो ।
पोखरामा अहिले मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजलगायतका नर्सहरु तलब, भत्ता बढाउन माग गर्दै आन्दोलनमा रहेका छन् । विगत एक हप्तादेखि आन्दोलनमा रहेका उनीहरुले सरकारी सरह तलब दिन माग गर्दै आएका छन् । अस्पताल प्रशासनले भने नर्सहरुको माग अनुसार तलब दिन नसक्ने अडान राखेका छन् ।
नर्सहरुको आन्दोलन र अस्पताल प्रशासनको अडानका बीच सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको छ । तर अस्पतालले सरकारको सो निर्देशन अनुसार तलब दिन नसक्ने अडान कायम राखेको छ ।
यसैबीच, अफिन गण्डकीले श्रम ऐन अन्तर्गत रहेर नर्सहरुलाई तलब, भत्ता उपलब्ध गराउँदै आईरहेको जनाएको छ । अफिन गण्डकीले सरकारी सरह तलब, भत्ता दिने भन्ने नेपालको कुनै पनि कानूनी प्रावधान नरहेकाले सो लागु गर्न दवाब नदिन पनि सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।
अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेलले नर्सहरुलाई सरकारी सरह तलब, भत्ता दिन नसक्ने बताए । सरकारी सरह तलबभत्ता दिनुपर्छ भन्ने कानूनी प्रावधान पनि छैन,उनले भने,‘हामीले श्रम ऐन अन्तर्गत रहेर तलब, भत्ता दिदै आएका छौं, यदि यो लागू नभए सो अनुसार गर्न, गराउन आग्रह गर्दछौं । तर कानूनी प्रावधान नै नहुँदानहुँदै सरकारी सरहको तलब, भत्ता देउ भनेर बाध्य पार्न पाईंदैन ।’
अफिन गण्डकीले पोखराका अस्पतालहरुमा भइरहेका आन्दोलनलाई सहमति र सहकार्यमा सहजीकरण गरी समाधान खोज्न अपिल गरेको छ । साथै उसले नर्सहरुलाई सहमतिबाट समाधान खोजी काममा फर्किन र त्यसका लागि अस्पताल व्यवस्थापन पक्षलाई पनि सहजीकरण गर्न आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मणिपाल शिक्षण अस्पतालका हस्पिटल निर्देशक प्रो.डा. अभिषेक मास्केले आन्दोलनरत नर्सहरुसँग सहमति भएको तर पछि कार्यान्वयनबाट नर्सहरु पछि हटेको दाबी गरे । आन्दोलनरत नर्सहरुसँग मंगलबार वार्ता भएको थियो,उनले भने,‘वार्तामा अहिलेको तलब बढाएर न्यूनतम २४ हजारदेखि २९ हजारसम्म पुर्याउने र आज दिउँसो २ बजेदेखि काममा फर्किने सहमति भएको पनि भयो, तर पछि उहाँहरुको टिममा कुरा मिलेन होला सायद ! त्यहि भएर आज काममा फर्किनु भएन ।’
उनले पनि नर्सहरुको माग र सरकारको निर्देशन अनुसार नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने बताए । ‘त्यो दिन पनि सकिदैन,‘देउ भनेर निर्देशन दिदैमा दिने अवस्था पनि छैन’–उनले भने ।
प्रकाशित: २९ आश्विन २०८२ २१:४० बुधबार





