बिमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाट हटाएकोमा धरानका मुख्य राजनीतिक दलहरूले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सरकारको बिमा बोर्डले साउन १ गतेदेखि लागू हुने गरी बीपी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाट रेफरल सेन्टरको रुपमा राखेको छ । बिमा बोर्डको निर्णय सच्चाउन दबाबका लागि धरानका राजनीतिक दलहरूले आइतबार स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बु, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राईको टोलीले इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीमार्फत स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन । ध्यानाकर्षण पत्रमा धरान उपमहानगर भित्र कुनै पनि सरकारी स्वास्थ्य संस्था नरहेकाले धरानका जनताको सरकारी तथा गुणस्तरीय स्वास्थ्य संस्था भनेकै बीपी प्रतिष्ठान मात्र भएकाले त्यसैलाई प्रथम सेवा केन्द्र र रिफरल केन्द्र कायम गरी सेवा दिन उल्लेख छ ।
शनिबार धरानमा बीपी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाट हटाएको विरोधमा तीन राजनीतिक दलको आह्वानमा प्रदर्शन पनि गरिएको थियो । नेकपा माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादी पार्टीको आह्वानमा प्रदर्शन गरिएको थियो ।
प्रकाशित: २९ असार २०८२ १८:३५ आइतबार

