१० असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

पाँच देशका ३५० बढी फिजिसियनहरू पोखरामा

पोखरामा पाँच देशका जनरल फिजिसियनहरु भेला भएका छन्। सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागि हुन ५ देशका ३५० भन्दा बढी जनरल फिजिसियनहरु पोखरामा भेला भएका हुन्। 

पोखराको एकमात्र पाँचतारे होटल ‘होटल पोखरा ग्राण्ड’मा हुने भेलामा नेपालसहित भारत, बंगलादेश, मालदिभ्स र वेलायतका जनरल फिजिसियनहरु सहभागि हुने सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल  (साईमन) का अध्यक्ष तथा सहिद गंगाला ह्रदयरोग अस्पतालका प्रा.डा.अरुण मास्केले जानकारी दिए। नेपालका फिजिसियनहरु सम्मेलनमा सदस्यका रुपमा सहभागि हुनेछन् भने विदेशका फिजिसियनहरु अतिथिका रुपमा सहभागि हुनेछन् ।

भेलाको पूर्व सन्ध्यामा बिहीबार वर्कसप सञ्चालन गरिएको छ। रोयल कलेज अफ फिजिसियन (आरसिपी) ईडेनबरा सँगको सहकार्यमा सञ्चालन गरिएको वर्कसपमा पाँचै देशका विषय विशेषज्ञहरुले सहजीकरण गर्ने अध्यक्ष मास्केले बताए। ‘वर्कसपले जनरल फिजिसियनहरुलाई थप अब्बल बनाउन सघाउँछ’, उनले भने ।

सम्मेलनको अवसरमा अन्तर्राष्ट्रिय रुपमा उपचारमा अप्नाईएको पछिल्लो पद्धती, त्यसका लागि प्रयोगमा ल्याईएको प्रविधि र उपकरणलगायतबारे छलफल हुने साईमनले जनाएको छ। सम्मेलनमा ५० जना विषय विशेषज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्ने मास्केले जानकारी दिए। उनका अनुसार मुटु, कलेजो, फोक्सो, मिर्गौला, नशा, पेटलगायतका रोगहरुका विषय विशेषज्ञहरुले हिजोको उपचार पद्धती, प्रविधि र उपकरणसँगै हाल अन्र्तराष्ट्रिय रुपमा अवलम्वन गरिएका उपचार पद्धती, प्रविधि र उपकरणबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। 

जसमा नेपालको अभ्यास र अन्तर्राष्ट्रिय रुपमा अवलम्वन गरिएका उपचार पद्धती, प्रविधि र उपकरणको प्रयोगमा देखिएका चुनौतिबारे प्रष्ट्याईने बताइएको छ। ‘एभिडेन्स बेस्ड मेडिसिनबाट उपचार गर्न यसले महत्वपूर्ण योगदान दिनेछ’, उनले भने। साईमन १९९९ बाट सुरू भएको हो। यसअघि काठमाडौं र बिरगञ्जमा भएको सम्मेलन यस पटक पोखरामा हुन लागेको हो।

प्रकाशित: २७ आश्विन २०७९ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App