१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा ३ सय बेडमा स्तरोन्नति हुने

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा २ सय बेड थप गरी स्तरोन्नति गरीने भएको छ। बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड र विशिष्टिकृत सेवा  थप गरी स्तरोन्नति गर्ने समझदारी भएको हो।

एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा मंगलबार बसेको अस्पताल सञ्चालक समितिको बैठकले स्तरोन्नति गर्ने निर्णय गरेको हो।

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो।

पचास शैयाबाट सुरु भएको उक्त अस्पताल हाल सय शैयामा सञ्चालन गरिएको छ। अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३ सय बेडको बनाउने र विशिष्टिकृत सेवा प्रवाह गर्ने निर्णय गरीएको जानकारी दिए।

महिला र बालबालिकाको स्वास्थ्य सम्बन्धी सबै खाले उपचार सेवा सहितको अस्पतालका रुपमा आम्दालाई स्तरोन्नति गर्ने सहमति भएको नगरप्रमुख पाण्डेले बताए। समझदारीका क्रममा आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने बताए।

उनले अस्पतालमा बेडसँगै, अन्य सेवा सुविधा थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने बताए। आम्दा नेपालका अध्यक्ष डा. अनिलकुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र श्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने स्पष्ट पारे।

अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले आवश्यक भूमिका निर्वाह गर्ने बताए। अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बताए।

सो अवसरमा आम्दा इन्टरनेशनलका अध्यक्ष सुगानामी सहित आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. दिनेश पोखरेल तथा आम्दा इन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मीसहितको टोलीलाई उपमहानगरपालिकाले सम्मान समेत गरेको छ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले आम्दा इन्टरनेशनलसँगको सहकार्यमा बुटवलमा देशकै स्तरीय अस्पताल बनाउने गरी काम हुने बताए। यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले महिला तथा बालबालिकाको उपचारका लागि स्तरीय अस्पताल बनेपछि बुटवल र आसपासका बिरामी अन्यत्र जानु नपर्ने बताइन्।

आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सुगानामीले बुटवलले अस्पताललाई स्तरोन्नति गर्ने राम्रो अवसर पाएको र त्यसको सदुपयोग गर्न आग्रह गरे। आम्दा नेपालका अध्यक्ष डा. दासले आम्दा नेपालले बुटवललाई विशेष प्राथमिकतामा राखेको र बुटवलले अन्यत्रका अस्पताल भन्दा राम्रो अस्पताल स्थापना गर्न लागेकोमा सहकार्यका लागि तयार रहेको बताए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलको गौरवका रुपमा रहने बताए।

प्रकाशित: ११ आश्विन २०७९ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App