६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द, मर्कामा बिरामी

डायलाइसिस सेवा बन्द भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अलपत्र परेका बिरामी। तस्बिर: नागरिक

सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन्।  

अस्पतालमा हरेक दिन बिहान ७ बजेदेखी बेलुका ८ बजेसम्म डायलाइसिस सेवा सञ्चालन हुदै आएको थियो। उक्त अस्पतालमा डायलाइसिस गराउन दैनिक १८ देखी २० जना मृगौलाका बिरामी आउँछन्। डायलाइसिस गर्ने जिम्मा पाएको ‘बिरंग हेल्थ केयर प्रालि’ ले सेवा बन्द गरेको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सञ्जय पन्तले बताए। ‘डायलाइसिस गराए वापत सरकारले एक वर्षभन्दा बढीको रकम अहिलेसम्म भुक्तानी गरेको छैन, सरकारसँग पैसा  नपाएपछि बिरंगले नै सेवा रोकेको हो,’ उनले भने।

हेल्थ केयरले पठाएको सामानबाट केहीदिन सम्म सेवा दिइएको बताउँदै पन्तले भने, ‘सेवा नै बन्द भएपछि अस्पताल आफैले पनि रकम ब्यवस्थापन गरेर सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको छ।’ शिक्षण अस्पतालका लेखा अधिकृत श्याम धितालका अनुसार सरकारले आर्थिक वर्ष २०७८/७९ को मात्रै एक करोड ६५ लाख ६४ हजार रुपैयाँ भुक्तानी दिनुपर्नेछ। रकम भुक्तानी माग्दा मन्त्रालयले अनेक बहानाबाजी गर्ने गरेको र अल्झाउने काम मात्रै गरेको अस्पतालका कर्मचारी बताउँछन्।  

अस्पतालमा दैनिक १८ देखी २० जना बिरामीले डायलाइसिस गराउँछन्। बिरामीको अवस्था अनुसार कसैले हप्तामा दुई पटक र कसैले एक पटक डायलाइसिस सेवा लिने गरेको प्रशासकीय अधिकृत पन्तले सुनाए। बिरामीले एक पटक डायलाइसिस गराए वापत सरकारले २५ सय रुपैयाँका दरले अस्पताललाई रकम भुक्तानी गर्नुपर्छ। ‘अस्पतालले बिरंगलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ, सरकारबाट प्राप्त हुने रकम बिरंगले मेडिकल कलेजबाट पाउँछ,’ पन्तले भने।  

नियमित रुपमा सञ्चालन हुदै आएको अत्यावश्यक सेवा बन्द भएपछि शिक्षण अस्पताल कोहलपुरमा बिरामी अलपत्र परेका छन्। सेवा बन्द भएपछि स्वास्थ्यमा निकै अप्ठ्यारो भइरहेको जानकी गाउँपालिका–६ कैलालीका जनक शाहीले बताए। ‘हप्तामा दुई पटक डायलाइसिस गराउँछु, डायलाइसिस नगरेपछि पेट पुरै फुलिएर आउँछ, असाध्यै पीडा हुन्छ, नियमित डायलाइसिस गराउँदा केही हल्का हुन्छ,’ उनले भने।  

डायलाइसिस वार्ड नै खाली भएपछि सेवा लिन अस्पतालमा पुगेका बिरामी मृत्युसँग लडिरहेका छन्। मधुवन नगरपालिका वडा नम्बर ४ बर्दियाका जिलिजमान चौधरी सेवा बन्द हुँदा कहाँ गएर ज्यान बचाउने भन्ने सोच्न नसकेको बताए। ‘सरकारले चाडो भन्दा चाडो सेवा सञ्चालन गराएर हाम्रो ज्यान बचाइदेओस्, हामी यही अनुरोध गर्छौ,’ उनले भने।  

आफुले विगत २ वर्षदेखि शिक्षण अस्पताल कोहलपुरमा आएर डायलाइसिस गराउँदै आएको उनले सुनाए। अहिले करिव ७० भन्दा बढीले नियमित सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ।  शिक्षण अस्पतालको सेवा बन्द भएपछि कतिपय बिरामीलाई भेरी अस्पतालमा समेत पठाउने गरिएको छ। तर, भेरीको क्षमता सानो भएकाले सबै बिरामीलाई सेवा दिन सकिदैन। 

 भेरीमा मृगौलाका बिरामीको चाप बढेको मेडिकल सुपरिटेण्डेन्ट डा.बद्री चापागाईले बताए। ‘डायलाइसिस गराउने बिरामीको चाप बढेको छ, तर हामीसँग जम्मा ४ वटा मात्रै मेसिन छ, धेरै जनालाई एकैपटक सेवा दिन गाह्रो छ,’ नागरिकसँग उनले भने।

प्रकाशित: १९ भाद्र २०७९ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App