१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा मिर्गौला प्रत्यारोपणको १४ वर्ष, समयमै रोकथाम नगरे मिर्गौला रोगले प्रकोपको रूप लिने

फाइल तस्बिर

समयमै रोकथाम नगरे नेपालमा मिर्गौला रोगले प्रकोपको रूप लिने चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगन्जकी डीन डा. दिव्या सिंहले चेतावनी दिएकी छन्। उनले टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोेपणको चौधौं वार्षिकीका अवसरमा यस्तो चेतावनी दिएकी हुन्। चौध वर्षअघि मिर्गौला रोग विशेषज्ञ डा. सिंहको नेतृत्वमा पहिलोपटक टिचिङ अस्पतालमा मिर्गौला प्र्रत्यारोेपण कार्यक्रम सुरु भएको थियो।

नेपालमा बर्सेनि मिर्गौला रोगीको संख्या तीव्र रूपमा वृद्धि हुँदै गएकाले भविष्यमा मिर्गौला फेल हुने रोगले प्रकोपको रूप लिने स्थिति रहेको डिन डा. सिंहले बताइन्। यसका साथै मिर्गौला बिगार्ने कारक मधुमेह र उच्च रक्तचाप समस्या तीव्र दरमा वृद्धि हुँदै गइरहेकाले यी दुवै समस्यासँगै मिर्गौला रोगले पनि प्रकोपको रूप लिने सम्भावना रहेको डा. सिंहले बताइन्। ‘पहिला उच्च रक्तचाप र मधुमेह धनी मुलुक र धनी मान्छेको थियो, अहिले हाम्रोजस्तो गरिब मुलुक र गरिब मानिसमा बढी छ’, उनले भनिन्।

सिंहका अनुसार सन् २०२५ सम्ममा नेपालजस्ता मुलुकहरूमा मिर्गौला रोगले महामारीको रूप लिने चेतावनी दिइसकेको छ। पहिला ७० वर्षका मानिसमा मधुमेह र उच्च रक्तचाप समस्या हुने गरेकोमा अहिले ४० वर्ष नकटेका र कतिपय २५ वर्षका युवामा उच्च रक्तचाप समस्या देखिएको उपचार गर्न अस्पताल पुगेका बिरामीको तथ्यांकले औंल्याएको छ। मधुमेह ४० वर्ष पहिल्यैदेखि देखिने गरेको छ । काठमाडौं मेट्रो क्लिनिकका मधुमेह रोगविशेषज्ञ डा. विनय भट्टराईका अनुसार पछिल्लो समय टाइप टु प्रकारको मधुमेह २०/२२ वर्षका युवामा समेत पाइएको छ।

४० वर्षमाथिका मधुमेहका बिरामी धेरै संख्यामा वृद्धि भइरहेको अस्पतालमा आउने बिरामीको चापबाट स्पष्ट हुन्छ। नेपालमा हाल १० लाखभन्दा बढी मधुमेहका बिरामी रहेको अनुमानित तथ्यांक छ। नेपालमा यसबारेमा छुट्टै अध्ययन नभएको डा. भट्टराई बताउँछन्। ‘युवा उमेरमै देखिएको टाइप टु मधुमेह मिर्गौला बिगार्ने मुख्य कारक भएकाले नेपालमा मधुेमहका बिरामी संख्या बढेसँगै मिर्गौला बिग्रने जोखिम पनि बढेको छ’, उनले भने।

तथ्यांकअनुसार सन् २००० सम्ममा नेपालमा प्रति वर्ष २ हजार नयाँ मिर्गौला रोगीको संख्या थियो भने हाल प्रतिवर्ष ४ देखि ५ हजार नयाँ मिर्गौलाका बिरामी देखिएका छन्। मिर्गौला बिगार्ने रोग मधुमेहको दर पनि उत्तिकै बढेको डा. सिंहको भनाइ छ।

मिर्गौला बिग्रिसकेपछि हुने उपचार जटिल र महँगो हुने भएकाले समयमै रोकथाम नगरेमा मिर्गौला रोगीका कारण परिवार र राज्यमा आर्थिक भार पर्ने र अनुत्पादक जनशक्तिको संख्यामा वृद्धि हुने डा. सिंह बताउँछिन्। सम्भावित प्रकोप हुन नदिन सरकारले अहिल्यैदेखि विशेष रणनीति बनाएर रोकथाममा ध्यान दिनुपर्ने डा. सिंहको सुझाव छ।

उनका अनुसार सरकारले मिर्गौला बिगार्ने समस्या नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने र उपचारमूलक सेवालाई सबैको पहुँचमा पुग्ने गरी व्यवस्था गर्ने अबको रणनीति हुनुपर्छ। विद्यालय, कलेज, स्थानीय निकाय, विभिन्न कम्पनी तथा संघ संगठनमा मिर्गौला फेल हुने कारकका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने; कारक बढ्न नदिने र स्वस्थ जीवनशैली अपनाउने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेमा मिर्गौला बिग्रनबाट बचाउन सकिन्छ।

बिग्रन लागेका मिर्गौलाका हकमा भने समयमै पहिचान गर्ने गरी सरकारले मिर्गौला जाँचका लागि विशेष सुविधा दिएर सबै जनताको पहुँचमा पुर्‍याएमा मिर्गौला नबिग्रँदै उपचार सम्भव हुन्छ। यसका साथै मिर्गौला रोगको सहज उपचारका लागि हेमोडाइलासिस सेवा तथा अन्य परीक्षण सेवाको पहुँच हुने गरी सातै प्रदेशमा मिर्गौला रोगविशेषज्ञसहितको अस्पताल व्यवस्थापन गर्नुपर्ने डा. सिंहको सुझाव छ।

त्यसैगरी मधुमेहका औषधी, उच्च रक्तचाप र मधुमेह जाँच सुविधा पनि सबैको पहुँचमा हुनुपर्ने डा. सिंहको सुझाव छ। टिचिङ अस्पताल महाराजगन्जले मिर्गौला प्रत्यारोेपण सुरु गरेको १४ वर्षको अवधिमा सात सय १५ जनामा मिर्गौला प्रत्यारोपण गरिसकेको छ।

मिर्गौला बचाउन के गर्ने ?

– उच्च रक्तचाप र मधुमेहको नियमित जाँच गरी औषधी सेवन गर्ने,

– वर्षमा एकपटक मिर्गौला जाँच गर्ने,

– शरिरको मोटोपना तथा तौल नियन्त्रणमा राख्ने,

– नियमित भोजनमा जंकफुड प्रयोग नगर्ने,

– नियमित भोजनमा सागपात, फलफूल समावेश गर्ने,

– नियमित ब्यायाम गर्ने,

– तनावरहित जीवनशैली अपनाउने र

– दैनिक आधा घन्टा छिटोछिटो हिँड्ने ।

प्रकाशित: २६ श्रावण २०७९ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App