१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आन्तरिक रक्तश्रावका बिरामीलाई एक करोडको औषधि

औषधि हस्तान्तरण गर्नुअघि सम्झौता पत्र प्रदान गर्दै मन्त्री लामा।

घाउ चोटपटक लागेपछि रगत नरोकिने (हेमोफिलिया) बिरामीका लागि बागमती प्रदेश सरकारले एन्टी हेमोफिलिक फ्याक्टर (औषधि) हस्तान्तरण गरेको छ। आइतबार हेटौंडामा एक कार्यक्रमकाबीच बागमती प्रदेश भित्रका हेमोफिलियाका बिरामीका लागि करिब एक करोड रुपैयाँ बराबरको एकहजार १३० भायल औषधि हस्तान्तरण गरेको हो। 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले हेमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरे लगायत उनको कार्यसमितिलाई औषधि हस्तान्तरण गरेको हो। औषधिको अभावमा हेमोफिलियाका बिरामीले अकालमा ज्यान गुमाउन बाध्य रहेको अवस्थालाई मध्यजनर गर्दै प्रदेश सरकारले एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराएको हो। डब्लूएचओका अनुसार १० हजार जनाको जन्म हुँदा एक जनामा यो रोग देखा पर्ने गरेको छ।

हालसम्म नेपालभर ७८० जना यस संस्थामा आबद्ध रहेकोमा बागमती प्रदेशमा २५० जना हेमोफिलियाको बिरामी रहेको सोसाइटीका अध्यक्ष घिमिरेले जानकारी दिए। अघिल्लो वर्ष हेमोफिलिया भएका ४ जनाको मृत्यु भएको थियो। ‘हेमोफोलिया महासंघले सहयोगी निकायमार्फत हामीलाई औषधि उपलब्ध गराउँदै आएको थियो। पछिल्लो समय ‘डोनर’ले पनि सहयोग गर्न छोडेपछि हामीले प्रदेश सरकारलाई गुहारेका हौं’, उनले भने, ‘सरकारले दिने औषधी हाम्रो लागि सन्जीवनी बुटी हुनेछ। औषधीको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था छ। प्रदेश सरकारको औषधिले धेरै राहत मिल्ने भएपनि हामीलाई अझै अभाव छ।’ हेमोफिलिया वंशाणुगत समस्या भएको बताइएको छ।  

औषधि हस्तान्तरण गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेमोफिलियाको बिरामीका लागि यसबर्ष एक करोड रुपैयाँ बराबरको औषधी किनेको जानकारी दिँदै यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए। ‘हामीले उपलब्ध गरेको औषधि सम्बन्धित व्यक्तिहरुलाई सर्वसुलभ उपलब्ध गराइदिनुहोला। प्रदेशभित्रका जस्तोसुकै बिरामीलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन तयार छौं’, मन्त्री लामाले भने, ‘पाठेघरमा हुने क्यान्सर रोक्न भ्याक्सिन उपलब्ध गराउने तयारीमा रहेका छौं। नागरिकलाई बचाउन र रोगबाट मुक्त राख्न लागिपरेका छौं।’ विकास निर्माणको बजेट घटाएर भएपनि प्रदेश सरकार नागरिक बचाउने अभियानमा लाग्ने उनको प्रतिबद्धता थियो। 

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक अर्जुनप्रसाद सापकोटाले हेमोफिलिया भएकाहरुलाई निरन्तर रक्तश्राव हुने जानकारी दिँदै उपलब्ध औषधिले बिरामीलाई राहत मिल्ने विश्वास व्यक्त गरे। बिरामीको तौल र अवस्था अनुसार औषधि लगाउनुपर्ने हुन्छ। यो औषधि बाहिरी पसलहरुमा उपलब्ध हुने गरेको छैन। प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट औषधि किनेर उपलब्ध गराएको हो।

प्रकाशित: २२ श्रावण २०७९ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App