१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

करारको भरमा जिल्ला अस्पताल: विरामी डाक्टर पर्खिंदै, अस्पताल प्रक्रियामा अल्झिंदै

बाजुरा जिल्ला अस्पताल भवन। तस्बिर: नागरिक

जिल्ला अस्पतालमा नै वर्षौदेखि स्थायी दरबन्दीको डाक्टर छैनन्, भन्दा सबैलाई विश्वास लाग्दैन्। जिल्ला अस्पतालमै दरबन्दीको डाक्टर नहोला र, कतिपयले प्रति प्रश्न पनि गर्छन्, तर बाजुरा जिल्ला अस्पताल त्यसको एउटा उदारण हो। जहाँ गएको तीन वर्षयता सिंगो जिल्ला अस्पताल करार सेवाका डाक्टरको भरमा चलेको छ।  

एमबिबिएस पास गरे लगत्तै करार सेवामा जागिर गर्न आएका डाक्टरलाई नै प्रशासनिक देखि प्राविधिक सेवाको जिम्मा छ। बाजुरा जिल्ला अस्पतालमा नवौं र आठौं गरि दुई जनाको दरबन्दी नै छ। कार्यालयमा सेवारत डाक्टर रुपचन्द्र विश्वकर्मा एमडी अध्ययनका लागि गएदेखि दरबन्दीमा डाक्टर नै आएका छैनन्। अधिकांशले संघ रोज्दा प्रदेश मातहतका अस्पतालमा डाक्टर आउन समेत नमान्नु अर्को समस्या देखिएको छ।  

हुनत हाल अस्पतालमा ६ जना डाक्टर कार्यरत छन्। ती मध्ये २ जना छात्रवृत्ती सेवा र ४ जना सेवाकालिन करार सेवाका हुन्। उनीहरुले प्रशासन सञ्चालनको अनुमति पाएपनि प्रभावकारी नहुने गुनासो सेवाग्राहीको छ। सेवाका नाममा ल्याप देखि भिडियो एक्सरे, अक्सीजन प्लान्ट देखि पीसीआर चेकजाँच अप्रेसन देखि कुपोषण उपचार गर्ने गरिएको छ। तर भनेजस्तो प्रभावकारी छैन्।

जिल्ला अस्पतालमा २ जना डाक्टर सहीत १८ जना स्थायी दरबन्दी नै छ। ती मध्ये ७ जना मात्र कार्यरत रहेको कार्यालय प्रमुख डाक्टर मिलन कुमार जोशीले बताएका छन्। २ जना अध्ययन विदामा छन्। बाँकी सबै सेवाका लागि अस्पतालले करारमै स्वास्थ्य कर्मी भर्ना गरेको छ। कार्यरत संख्या ७८ जनाको छ। अझै सबै सेवा सुचारु गर्न त्यो संख्या पनि अपुग रहेको भन्नु हुन्छ, कार्यालय प्रमुख डाक्टर मिलन कुमार जोशी।  

सबैलाई भनेजस्तो सेवासुविधा छैन्। कतिपयले समयमै तलब समेत नपाउने गरेका गुनासा छन्। जुन समस्याले बाजुरा जिल्ला अस्पताल अस्तव्यस्त नै छ। र सेवाको गुणस्तर दयालाग्दो अवस्थामा छ। विरामीले जिल्ला अस्पतालको जस्तो सेवाको अनुभव नै पाएका छैनन्। तीन वर्ष पहिलको जस्तो उपचार समेत नपाउने गरेको गुनासो विरामीको छ।  

विजुलीको समस्याले अक्सीजन उत्पादनमा समस्या हुने गर्छ, एमडीजिपी डाक्टरको अभावले सामान्य समस्याका लागि पनि महँगो भाडा र सास्ती भोगेर जिल्ला बाहिर उपचार गराउनु पर्ने बाध्यता जिल्ला बासीलाई छ। बेहोस गरेर बच्चा जन्माउन सक्ने अवस्था समेत नआएपछि एक जना सुत्केरीलाई रिफर गर्न बाजुरा जिल्ला अस्पताल बाध्य छ।

सानो घाउ र हात जोर्नीको समस्या लिएर आउनेहरुलाई समेत रिफर गर्ने गरेको आक्रोश नागरिक समाजको छ। तर जिल्ला अस्पतालले त्यो जनशक्ति अभावकै समस्या भएको स्वीकार गरेको छ। बिशषेज्ञ डाक्टर ल्याउन धेरै प्रयास गरियो, डाक्टर आउन तयार भए, तर प्रक्रियाको कारण देखाएर मन्त्रालयले पठाउनै मानिरहेको छैन, अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्।

कार्की अस्पताल व्यवस्थान समिति अध्यक्ष भएको वर्षदिन बितेको छैन्। तीन पटक बिशषेज्ञ डाक्टरका लागि मन्त्रालयलाई चिठी नै लेखिसकेका छन्। मन्त्रालयले जान तयार नै डाक्टर हुदैनन्, भनेर टार्ने गरेको छ। डाक्टर आउन तयार हुँदा राजनीतिक दबाबले रोक्न लगाइयो, असुविधाकै कारण पनि कतिपयले आउनै नमान्ने गुनासो अध्यक्ष कार्कीको छ।

हात जोर्नी, यौन तथा प्रजनन स्वास्थ्य सँग सम्बन्धीत डाक्टर पहिलो आवश्यकता हो। बाजुराका महिलाहरुलाई यौन तथा प्रजनन स्वास्थ्यको बढी समस्या छ। सुत्केरी हुन नसकेका घटना अझ बढी छन्। हात खुट्टा भाँचीएका समस्या दिनहुँ आउने गछर्न्। तर सबै विरामी रिफरको कागज लिएर फर्किन बाध्य छन्। सकेको सबै सेवा दिइरहेका छौं, दुर्गम ठाउँ हो, बिशषेज्ञ तहको सेवा दिन सकिएको छैन्, कार्यालय प्रमुख डाक्टर मिलन कुमार जोशीको भनाई छ।

कार्यालयमा सुविधा सम्पन्न भौतिक संरचनाको अभाव छ। गएको वर्ष निर्माण सक्नु पर्ने ५० शौयाको अस्पताल भवन अधुरै छ। पीएस कन्टक्सनले निर्माण गरिरहेको उक्त भवन आउने चैत्र भित्र निर्माण सक्ने वाचा निर्माण कम्पनीका प्रमुख प्रेम शंकर भट्टको छ। तर पनि कामको गतिले तो सीमा पनि नाघ्ने देखिन्छ।  

राजनीतिक पहुँच अपुगकै कारण पनि बिशषेज्ञ र दरबन्दीका स्वास्थ्य कर्मी पूर्ति गर्न नसकेको आरोप वास्तविक जस्तै लाग्ने गरेको छ। बाजुरा जिल्ला अस्पताल रिफर गर्ने कार्यालय जस्तो मात्र देखिएको छ। विरामीले भोग्नु पर्ने समस्या र सास्तीमा जिम्मेवार नबनेको आरोप स्थानीयको छ।  

दैनिक १ सय बढी विरामी उपचारका लागि आउने गर्दछन्। ती मध्ये दर्जन बढीलाई रिफरको काजग लेख्नु पर्ने बाध्यता अस्पताललाई छ। करारकै कर्मचारी भएपनि कार्यालय प्रमुख बनाउने स्वार्थले सिनियर डाक्टर ल्याउन चलखेल हुने गरेको आरोप समेत लाग्ने गरेको छ। तर अस्पताल व्यवस्थापन समितिले पत्रकार सम्मेलन मार्फत नै आरोपमा सत्यता नभएको स्पष्ट पारेको छ।

हामीले सक्दो प्रयास गरिरहेका छौं, आउन नमानेको र आउनेलाई नआउने वातावरण बनाएको साँचो हो, तर जिल्लाबाटै नआउने दिने गरि चलखेल नभएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्। हामी भदौ पहिलो हप्ताबाट स्त्री रोग बिशषेज्ञ डाक्टर र हातजोर्नी बिशषेज्ञ डाक्टर ल्याएर सेवा दिने तयारीमा छौं, कार्कीले भने।  

उसोत कार्यालय प्रमुख डाक्टर मिलन कुमार जोशीले सिनियर जुनीयरको कुरा नै नभएर विरामीलाई सेवा दिने कुरामा आफूहरु प्रतिवद्ध रहेको बताएका छन्। कोही सिनियर डाक्टर वा बिशषेज्ञ आउने र कार्यालय प्रमुख हुने माग हो, भने हामी बाधक छैनौं, विरामीको सेवा पहिलो कुरा हो, डाक्टर मिलनले भने।  

तर पछिल्लो समय जिल्ला अस्पतालमा कर्मचारीको लापरवाही र सेवा प्रवाहमा व्यापक आलोचना हुने गरेको छ। बिशषेज्ञ सेवा दिन नसक्दा विरामीले सास्ती बेहोर्नु पर्ने अवस्था छ। यस विषयमा सम्बन्धीत निकाय पनि मौन जस्तै छ। संघिय मन्त्रालयले प्रदेश मातहतको कार्यालयका लागि आवश्यक जनशक्ति माग लिखित गर्नु पर्ने अडानमा छ। प्रदेश मन्त्रालय र स्वास्थ्य निर्देशनालय बेखबर जस्तै बनेको छ। जिल्ला अस्पताल दुबै तिर पत्र पठाउने पक्रियामा छ। जति आग्रह गर्दापनि माथिल्लो निकायबाट बाजुरामा डाक्टर पठाउने विषयमा कोही सकारात्मक नदेखिएको स्वीकार अस्पताल व्यवस्थापन समितिले गरेको छ।

समितिले व्यापक आलोचना आउन थालेपछि पत्रकार सम्मेलन नै गरेर सुधार गरेर लैजाने प्रतिवद्धता जनाएको छ। भदौ पहिलो हप्ताबाट बिशषेज्ञ सेवा दिन सुरु गर्ने, कोरोना उपचार र पूर्व तयारी अवस्थामा राख्ने, कर्मचारी माथि लाग्ने आरोपलाई सुधार गर्दै इर्मजेन्सीमा नियमित डाक्टरले सेवा दिने वातावरण निर्माण गर्ने र म्याद सकिएका करार कर्मचारीको म्याद थप गरेर सेवा प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ। 

प्रकाशित: २० श्रावण २०७९ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App