४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

अस्पताल विस्तार गर्न आठ बिघाको स्वामित्व लिइँदै

फाइल तस्बिर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चितवनमा शिक्षक अस्पताल निर्माण गर्न जग्गाको स्वामित्व लिन प्रक्रिया अगाडि बढाएको छ। भरतपुर महानगरपालिका–१४ र १५ मा पर्ने भगवानपुरमा रहेका आठ बिघाको सार्वजनिक जग्गा स्वामित्व लिन प्रक्रिया अगाडि बढाएको हो।

‘जग्गा स्वामित्वमा लिन भरतपुर महानगरपालिकाको सिफारिस लिएर प्रमुख जिल्ला अधिकारी संयोजक हुने जिल्ला सार्वजनिक जग्गा संरक्षण समितिबाट निर्णय गरिसक्यौं,’ जग्गा अवलोकन गर्न चितवन आएका मन्त्रालयका उपसचिव विधुरराज गिरीले भने, ‘मन्त्रालयको नाममा जग्गा लिन कागजपत्र भूमि व्यवस्था तथा अभिलेख विभागमा बुझाएका छौं।’ एक महिनाअघि नै कागजपत्र बुझाए पनि नपुगेका कागजपत्र थप गर्दै लगिएको उनले बताए। उनका अनुसार एक महिनाभित्र डिपिआर गर्न सुरुवात गरिनेछ। यसका लागि ५० लाख रूपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ। जग्गा स्वामित्वमा आउँदा साथ काम अगाडि बढाउने योजनामा मन्त्रालय छ।  

अहिले चितवनमा शिक्षक अस्पतालका लागि आठ बिघा भए पुग्ने बताए। तर प्रतिष्ठान सञ्चालन गर्न भने जग्गा अभाव हुने उनको भनाइ छ। ‘अहिले हामीले ३ सय शड्ढयाको अस्पताल बनाउन लागेका हौं। यसका लागि आठ बिघाले पुग्छ,’ उनले भने, ‘प्रतिष्ठान नै बनाउन कम्तीमा २० बिघा आवश्यक पर्छ।’ तर अहिले नै प्रतिष्ठान बनाउने सोच नभएको उनले बताए। २०७८ माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै शिक्षा मन्त्रालयले चितवन आएर जग्गा हेरेर गएको थियो। भरतपुर महानगरपालिकाले पनि यहाँ शिक्षक अस्पताल बनाउन पहल गरिरहेको छ। ‘नेपाल सरकारको सैद्धान्तिक सहमति हुँदै नै भरतपुरमा शिक्षक अस्पताल ल्याउन पहल गरेका हौं। महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘हामीले जग्गा दिन्छौं भनेपछि यहाँ आउनुभएको हो।’ उनले शिक्षक अस्पतालका लागि चाहिने आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाइन्।  

शिक्षक अस्पताल बनाउन टेकु अस्पतालका डाक्टर विमल शर्मा चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको थियो। सो समितिले अस्पताल चितवनमा बनाउनु उपयुक्त हुने सुझाव दिएको थियो। भगवानपुर कित्ता नम्बर (५०, ५१, ५२, ६०, ६१, ६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ बिघा जग्गा उपयुक्त रहेको निष्कर्ष समितिले निकालेको थियो। तर महानगरले सो स्थानको आठ बिघा सार्वजनिक जग्गा दिने निर्णय गरेको हो। भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा हुनेगरी अस्पताल बनाउन लागिएको हो।  

शिक्षक अस्पताल निर्माण भए विद्यालयमा काम गर्ने कर्मचारी र शिक्षक सहित ५ लाख लाभान्वित हुनेछन्। तर अहिले नै अस्पताल सञ्चालन कार्यविधि बनाइएको छैन। शिक्षक अस्पताल बन्ने भएपछि शिक्षकरूसमेत खुसी भएका छन्। ‘हाम्रो ३५ वर्षअघिदेखिको माग हो। अहिले बजेटसमेत विनियोजन भएको छ,’ नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले भने, ‘निजामती कर्मचारी, सेना, पुलिसको पहिलेदेखि नै छ। अहिले शिक्षक पनि राष्ट्रसेवक हुने भन्ने बुझेको छ।’ उनले पछि ७ सय शड्ढयासहितको अस्पताल बनाउने लक्ष्य रहेको उनले बताए।

प्रकाशित: ८ श्रावण २०७९ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App