बाँकेमा पनि ‘नैरोबी फ्लाइ’ नामक किराका कारण मानिसमा छालाको समस्या देखिन थालेको छ। बाँकेसहित तराईका जिल्लामा पछिल्लो केही दिनयता केन्यानी किराका नामले पनि चिनिने उक्त किराले शरीरमा बसेपछि छोड्ने अम्लीय पदार्थका कारण छालामा जिलजिले जस्तै खटिरा आउने गरेको पाइएको छ।
भेरी अस्पतालमा कार्यरत छालारोग विशेषज्ञ डा. आरके झाका अनुसार शुक्रबार करिब आधा दर्जन व्यक्ति किराका कारण खटिरा आएको भन्दै अस्पताल पुगेका उनले बताए। यद्यपि नैरोबी फ्लाइकै कारण उक्त समस्या भए नभएको यकिन भन्न नसकिने उनले बताए। झिँगा जातको केन्यानी झिँगाका नामले पनि चिनिने यी किराको शरीर मसिनो तर लामो हुन्छ। सुन्तला र कालो रङका हुने यो किरा धेरै वर्षा हुने क्षेत्रमा पाइन्छ। तिनीहरू प्रकाशले आकर्षित हुने गरेका छन्। यी झिँगाले सामान्यतया बाली नष्ट गर्छन् र किरा खान्छन्। यी झिँगाले नटोक्ने र नडस्ने भए पनि यदि कसैको छालामा बसेको बेला धपाउन खोजियो भने एक शक्तिशाली अम्लीय पदार्थ छोड्छन्, जसले जलाउँछ। यस किराबाट निस्कने उक्त अम्लीय तरल पदार्थले छालामा असामान्य जलन, जलिउरा वा घाउ निम्त्याउन सक्छ।
डा. झाका अनुसार उक्त समस्या आएको २४ देखि ४८ घण्टामा छाला उप्केर सुक्छन्। यदि विष शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन थालेमा भने उपचारमै जानुपर्ने हुन्छ। डा. झाले ‘नैरोबी फ्लाइ’ जलवायु परिवर्तनका कारण भारत तथा नेपालमा आएको हुनसक्ने भए पनि यस्तै खाले अरू किरा पहिलेदेखि नै हामीकहाँ रहेकाले आत्तिइहाल्नु नपर्ने बताएका छन्। वर्षाको समयमा यस्तो समस्या पहिले पनि देखिँदै आएको उनको भनाइ छ। उनले झिँगाको प्रभावबाट बच्न पूरा बाहुला भएको कपडा लगाउने, झुल लगाएर सुत्न, झ्यालढोकामा जाली लगाइराख्न, बाहिर निस्कँदा छालामा चिल्लो लगाएर निस्कन र किराको सम्पर्कमा आइहाले नजिकको स्वास्थ्यकर्मीकहाँ जान सुझाव दिएका छन्।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भने यस किराको बाँकेमा प्रभावबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए। यद्यपि आफूहरूले पालिकामा रहेका स्वास्थ्य शाखामा यस विषयलाई ध्यानमा राख्न अनुरोध गर्ने र अवस्थालाई नजिकबाट नियाल्ने उनले बताएका छन्।
प्रकाशित: २६ असार २०७९ ०४:३४ आइतबार

