१४ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपीमा साउन ४ गतेसम्म स्वास्थ्य बीमा सुचारु हुने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ४ गतेसम्म स्वास्थ्य बीमा अन्तर्गतको सेवाहरु सुचारु गर्ने भएको छ।

बीमा बोर्ड, धरानका मेयर र मानव अधिकार आयोगबाट समेत बीमाको सेवाहरु नरोक्न अनुरोध भएको भन्दै प्रतिष्ठानले साउन ४ गतेसम्म सेवाहरु सुचारु गर्ने जनाएको हो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आइतबार एक सुचना जारी गर्दै उक्त अवधिसम्म शोधभर्ना पाउनुपर्ने रकम भुक्तानी नभएमा साउन ८ गतेदेखि भने वीमाको सबै सेवा स्थगन गर्ने पनि प्रष्ट पारेका छन्।

प्रतिष्ठानले यसअघि असार २० गतेदेखि नै सेवाहरु स्थगन गर्ने अल्टिेमटम बीमा बोर्डलाई दिइसकेको थियो। प्रतिष्ठानलाई यो निर्णयबाट पछि हट्न चौतर्फी दबाब परेको थियो। धरानका मेयर हर्क साम्पाङले प्रतिष्ठानका डेपुटी डाइरेक्टर, अस्पताल प्रशासन प्रमुखलगायतलाई बोलाएर साउन भरि सेवा नरोक्न आग्रह गर्दे वीमा बोर्डमा आफुले पनि पहल गर्ने बताएका थिए। साथै उनले बोर्डका कार्यकारी निर्देशकलाई फोन गरेर शोधभर्ना रकम उपलब्ध गराउन पनि आग्रह गरेका थिए।

प्रतिष्ठानका अनुसार बोर्डबाट कुल ३४ करोड बढी रकम पाउन बाँकी छ। प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोत विरामीहरुलाई उपचार सेवा दिएवापत लिने शुल्क हो। तर, स्वास्थ्य वीमा कार्यक्रमको कारण ७० प्रतिशत आम्दानी प्रतिष्ठानको घटेको छ। बीमा कार्यक्रममार्फतको भुक्तानी पाउन वीमा बोर्डमा दाबी गरिए पनि कम मुल्यांकन गरिदिने, मुल्यांकन पनि नगरिदिने लगायत कारणले ३४ करोड बढी रकम बक्यौता भएको प्रतिष्ठानको दाबी छ।  

आम्दानीको प्रमुख स्रोत नै यसरी गुमेपछि अहिले प्रतिष्ठान चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। चिकित्सक तथा कर्मचारीहरुलाई तलब भत्ता खुवाउन पनि प्रतिष्ठानलाई धौ धौ भइरहेको छ। सरकारले प्रतिष्ठानलाई भौतिक पुर्वाधार तथा मेशिनरी खरिदमा मात्र बजेट दिने गर्छ। यहाँको तलब भत्ता, दैनिक प्रशासनिक तथा सञ्चालन खर्च प्रतिष्ठानले आफै व्यवस्थापन गर्नुपर्ने हुन्छ। आम्दानीको प्रमुख स्रोत उपचार सेवाको शुल्कमा स्वास्थ्य वीमाको कारण ७० प्रतिशत हाराहारीमा प्रभावित भएको प्रतिष्ठानले जनाएको छ।  

बीमा बोर्डले द्धिपक्षीय तथा त्रिपक्षीय छलफल तथा बोर्डबाट गठित उच्चस्तरीय समितिले पेश गरेको सुझाव अनुसार सेवा प्रदान, दाबी प्रविष्ट र भुक्तानीमा देखिएको समस्यालाई यथासीघ्र सम्बोधन गर्ने प्रतिवद्धता बीमा बोर्डबाट भएको उपकुलपति डा.गिरीले जानकारी दिए। साथै, प्रतिष्ठानबाट गरिएको दाबीलाई प्राथमिकता दिएर परीक्षण भइरहेको र शोधभर्ना प्रक्रिया अघि बढेको तथा अन्य समस्याहरुको बारेमा  गरिएको वीमा बोर्डको बैठक र विज्ञ चिकित्सकहरु विभिन्न चरणमा छलफल गरि समाधानको दिशामा अघि बढेको जानकारी बीमा बोर्डले पत्राचार गरि जानकारी दिएको पनि उपकुलपति डा.गिरीले बताए।

वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले जारी गरेको सुचना। तस्बिर:नागरिक

प्रकाशित: १९ असार २०७९ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App