१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चितवनमा भोलिदेखि ५–११ बर्ष उमेर समूहका बालबालिकालाई खोप दिइँदै

७६हजार ८०० बालबालिकालाई खोप लगाउने तयारी

चितवनमा भोलिदेखि (बिहीबार) बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुने भएको छ। ५–११ वर्ष उमेर समूहका ७६ हजार ८ सय बालबालिकालाई लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ। १८ गतेसम्म प्रत्येक विद्यालय तथा खोप केन्द्रमा बालबालिकालाई खोप लगाईने छ।  

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुँदै छ। ‘भरतपुर, माडी र इच्छाकामनामा नियमित खोप सञ्चालित छन्। यो समयमा लगाउन मिल्दैन,’ स्वास्थ्य कार्यालय चितवनका निमुक्त प्रमुख राम केसीले भने, ‘नियमित खोप सकिएपछि असार १४गतेबाट १८ गतेसम्म सञ्चालन गछौँ।’ पूर्वि चितवनका कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा असार ९देखि १४गतेसम्म सञ्चालन हुने केसीले जानकारी दिए। विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानको अन्तिम दिन  खोप लगाइने उनले बताए।

जिल्लामा ५४० वटा खोप केन्द्र तोकिएका छन्। यसका खोप दिने स्वास्थ्यकर्मी ९४४ र स्वयसेवक १हजार ३९४ जना खटिनेछन्। बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप दिईने छ।  १ दशमलव ३ मिलि लिटर एउटा भाईल १० जनासम्मलाई मिल्छ  छ।

एक जनालाई शून्य दशमलव २ मिलि लिटर डोज दिइने उनले बताए। एउटा भाइल खोलेको ६ घण्टा बढी राख्न नमिल्ने भएकाले जतिसक्दो छिटो खोप केन्द्रमा गएर लगाउन उनले अनुरोध गरे। ‘०.२ मि.लि.को भाइल हुँदैन। खोलेर राख्दा त्यसले काम नगर्न सक्छ,’ उनले भने ‘भाइल खोलेको जतिसक्दो छिटो लगायो उति राम्रो हुन्छ।’

केही बालबालिकालाई ज्वरो आउने, खोप लगाएको ठाउँमा सुन्निने वा हात दुख्नेजस्ता समस्या देखिन सक्ने पब्लिक हेल्थ नर्स निरिक्षक नन्दकली चापागाईले बताईन्। ‘यो खोप लगाउँदा ज्वरो आउँन सक्छ, कसैलाई वान्ता हुन पनि सक्छ,’उनले भनिन्, ‘सामान्य ज्वरो र एकदुईपटक वान्ता हुँदा डराउनुपर्दैन।’ तर, उच्च ज्वरो र पटक पटक वान्ता भएमा स्वास्थ्यसंस्था जानुपर्ने उनले बताईन्। केही बालबालिकालाई भने खोप लगाएपछि एलर्जी देखिने उनको भनाइ छ। शरीरले देखाउने प्रतिक्रिया गम्भीर भएको खण्डमा बच्चालाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने उनले बताईन्।  

खोप लगाएको केहि दिनसम्म बालबालिकालाई निगरानिमा राख्नुपर्ने स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले सुझाव दिएकी छन्। ‘खोप लगाएपछि हुनसक्ने अवाञ्छित घटनाको निगरानीको लागि खोप लिएपछि ३० मिनेटसम्म खोप केन्द्रमा अनिवार्य रुपमा बस्नु पर्दछ, उनले भनिन् ‘खोप लगाएको केही दिनसम्म कुनै कडा बिरामी वा समस्या भएमा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नु पर्दछ।’  

इम्युनोग्लोबुलिन, मोनोक्लोनल एन्टिबडी, कन्भलेसेन्ट प्लाजमा उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउनु हुदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि यो खोप लगाउन मिल्छ। साथै उच्च ज्वरो र कोभिड १९ संक्रमण भएको ३० दिन नपुगेका बालबालिकाले खोप लगाउन नमिल्ने ढकालले बताईन्। खोप लगाउन जाने समयमा स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरिएको छ।  

पहिलो मात्रा खोप लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनु पर्दछ। त्यसका लागि भदौ पहिलो साताअघि नै थप खोप लगाउने तयारी  गरिएको छ। दोस्रो मात्रा खोप लिन आउँदा अनिवार्य खोप कार्ड लिएर खोप केन्द्रमा जानुपर्दछ।  

चितवनमा हालसम्म ५ लाख २८ हजार  ९२५ जनाले पहिलो मात्रा लगाएका छन्। त्यस्तै ४ लाख ७० हजार ५७ले दोस्रो मात्रा र ९३ हजार ४७० जनाले बुष्टर डोज लगाएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ। चितवनमा १२ वर्षदेखि १७ वर्षसम्मकाले पनि बुष्टर जोड लगाएका छन्। चितवनमा प्रत्येक साता कोरोना विरुद्धको खोप लगाईने गरिन्छ। तर, पछिल्ला दिनहरुमा खोप लगाउन आउनेको संख्या न्यून रहेको स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख राम केसीको भनाई छ।

प्रकाशित: ८ असार २०७९ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App