नवनिर्वाचित जनप्रतिनिधिले सबैतिर पदभार ग्रहण गर्ने क्रममा सबभन्दा ढिलो मतगणना भएको त्रियुगा नगरपालिकाका विजयीहरुले पनि पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्ने क्रममा त्रियुगा १६ नं. वडाले वडाबासीको स्वास्थ्य र सञ्चारमा पहुँच विस्तार गर्ने घोषणा गरेको छ।
शुक्रबार नवनिर्वाचित वडाध्यक्ष मानबहादुर राईले पदभार ग्रहण गर्दै स्वास्थ्य र सञ्चारमा नौलो सेवा दिने घोषणा गरेका हुन्। नेकपा (माओवादी केन्द्र)को तर्फबाट विजयी राईले पदभार सम्हाल्दै सुत्केही आमालाई पोषण भत्ता, वडाबासीलाई मुटु रोगको जाँच र उपचार तथा सञ्चार पहुँच पुर्याउने घोषणा गरेका हुन्। जस अन्तर्गत सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म जान–आउन निशूल्क एम्बुलेन्स सेवा तथा नवजात शिशु र आमाको स्वास्थ्यमा पोषण खर्चवापत ३ हजार भत्ता सहयोग गर्ने घोषणा गरे।
वडाबासीको स्वास्थ्यमा पहुँच विस्तार गर्न उनले सहरी स्वास्थ्य केन्द्र सुकौरामै मुटु रोगको जाँच र उपचार गर्न इसिजी सेवा सञ्चालनमा ल्याईहाल्ने बताए। उनले सञ्चार सुविधाको प्रभावकारी उपभोग र नियमित गराउन टेलिकमको टावर निर्माण गर्ने बचन दिएका छन्। नगरपालिका भए पनि बिकट पहाडी भेग समेटिएको वडा भएकाले सबै गाउँबस्तीमा मोवाईल नलाग्ने समस्या अन्त्य गर्न सिम्ले बस्तीमा टावर निर्माण गरी सञ्चारमा पहुँच पुर्याउने उनलेब ताए।
दोस्रो कार्यकाल सुरु गरेका वडाध्यक्ष राईले सबै वडाबासीलाई स्वास्थ्य, सञ्चार, शिक्षा, विद्युत, सडक र खानेपानी सुविधायुक्त बनाएर प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए। राई यसपटकको चुनावमा अत्याधिक बहुमत ल्याएर वडाध्यक्ष दोहोरिएका हुन्। राईलाई खसेको कुलमतमध्ये ६४ प्रतिशत मत परेको छ।
उनले अघिल्लो ५ वर्षे कार्यकालमा कृषि विकासमा जोड दिन ‘एक घर एक भैसी, खाउँ दूध नखाऔं रक्सी’ भन्ने नाराका साथ किसानलाई अनुदानमा भैसी बितरणलगायत केही लोकप्रिय कार्यक्रम सञ्चालन गरेका थिए। भैसी बितरणबाट धेरै वडाबासी किसानको आर्थिक उन्नति भएको र जाँड रक्सी प्रयोगमा निरुत्साहित बनाएको वडाबासीको भनाई छ। उनले पहिलो कार्यकालमै हरेक बस्तीसम्म नयाँ सडक निर्माण, विद्युत र खानेपानीको कतै अभाव हुन नदिएको तथा हरेक विद्यालयमा भवन, फर्निचर र दरबन्दी व्यवस्थापन गरेको वडाबासीको भनाई छ।
अघिल्लो कार्यकालमा सुरु गरेर अधुरो रहेका सबै योजनालाई पूरा गर्ने तथा नयाँ जनमुखी र आर्थिक उपार्जनका योजनाहरु ल्याएर वडाबासीलाई समृद्ध बनाउने उनको अवधाराण छ। बिभिन्न जनमुखी कार्यक्रममार्फत वडामा लोकप्रियता हासिल गरेकै कारण राईसँगै उनको ४ सदस्यसहित प्यानलै जनप्रतिनिधि माओवादीबाट निर्वाचित भएको छ। यसपटक राईलगायत दोहोरिएका ४ जना सदस्य सबै अघिल्लो कार्यकालकै जनप्रतिनिधि हुन्। दोहोरिनेमा महिला सदस्य गोमा कार्की, खुल्ला सदस्य घमानसिंह राई र रामनारायण श्रेष्ठ तथा दलित महिला सदस्य कुन्दी परयिार छन्।
कार्की यसअघि नगर कार्यपालिका सदस्यसमेत थिईन्। सबैले राम्रो काम गरेका कारण वडाध्यक्षदेखि सदस्यसम्म प्यानलै टिकट पाएर पुनः दोहोरिने मौका पाएको माओवादी नगर कमिटी अध्यक्ष गीता खड्का कार्कीले बताईन्। अध्यक्ष कार्कीका अनुसार माओवादीले यस पटकको चुनावमा वडा नं. १६, १५ र १४ मा प्यानलै र वडा नं. ६ मा वडा सदस्य गरी १६ सिट जितेको छ।
प्रकाशित: २० जेष्ठ २०७९ १४:४६ शुक्रबार





