२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अब इटहरीका स्वास्थ्य चौकीबाट बिमाको रेफर लेटर

इटहरी अस्पतालबाट मात्र हुँदै आएको बिमा रेफर अब इटहरीका चारवटा स्वास्थ्य चौकीबाट पनि हुने भएको छ।

नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार अब स्वास्थ्य चौकी हाँसपोसा, पकली, एकम्बा र खनारबाट बीमा रेफर गर्ने व्यवस्था मिलाइएको हो।

इटहरी अस्पतालमा बिमा रेफर लिन आउने सेवाग्राहीले धेरै सास्ती पाउने गरेको कारण यो सेवालाई सहज बनाउन इटहरीवासीले नयाँ जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए। इटहरी अस्पतालमा बिरामीको रेफर लिन झण्डै ५ घण्टासम्म लाइन लाग्नु पर्ने बाध्यता थियो।

इटहरी अस्पतालले ती स्वास्थ्य चौकीलाई बुधबारदेखि नै रेफर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। रेफर कार्डको समय एक साताका लागि हुँदा बिरामीले पटक–पटक अस्पताल धाउनुपर्ने अवस्था छ । इटहरीमा अस्पतालमा विशेषज्ञ सेवा लिनेबाहेक अन्य सामान्य बिरामी मात्र आउने गर्छन्।

विशेषज्ञ चिकित्सक तथा विशेष उपकरणहरूको अभाव हुँदा यहाँका बिरामी धरान र विराटनगर जाने गरेका छन्। सघन बसोबासका लागि देशैभर रुचाइएको इटहरीमा जनघनत्व दिन प्रतिदिन बढ्दै छ। यहाँ भएका केही निजी स्वास्थ्य संस्थाबाट पनि प्रभावकारी सेवा सुविधा छैन।

२०२२ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भइ ५४ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साउन १ गतेदेखि इटहरी अस्पतालमा रुपान्तरण गरिएसँगै सेवा सुविधामा सुधार हुन सकेको छैन। इटहरी अस्पतालमा एक जना मात्र विशेषज्ञ चिकित्सक छन्।

इटहरीका बिमितहरूले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर, विराट मेडिकल कलेज बूढीगंगा, हाम्रो अस्पताल विराटनगर, कोसी प्रादेशिक अस्पताल, गोल्डेन अस्पताल विराटनगर, सञ्जीवनी अस्पताल विराटनगर, विराटनगर आँखा अस्पताल र इटहरी नवदृष्टि आँखा अस्पतालमा भर्ना भइ उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App